बैशाख २३, २०८१, आइतबार
               

फिल्म समीक्षा : नोकझोकको झगडाले बसेको माया ‘लभ डायरी’
सतही कथाको गम्भीर प्रस्तुति

ADVERTISEMENT

पछिल्लो केही समय यता नेपाली फिल्मको स्तरमा धेरै नै परिवर्तन देखिन थालेको छ ।  स्तरमा परिवर्तन आएसँगै नेपाली चलचित्र हेर्न दर्शकहरुपनि ह्वात्तै बढेको छ । आजकाल त कुनै फिल्मको उत्कृष्ट सङ्गीत र ट्रेलर सार्वजनिक भएसँगै, सो फिल्म छोटो समयमै चर्चा कमाउन सफल हुन्छ र दर्शकहरु माझमा प्रतीक्षित बन्न पुग्छ । 

यस्तै भयो १४ फेब्रुअरी (गत शुक्रवार) बाट प्रदर्शनमा आएको फिल्म ‘लभ डायरी’ पनि । ८० बढी हलहरूमा एकैसाथ रिलिज भएको फिल्म ‘लभ डायरी’ पनि  ट्रेलर र सँगीतकै  कारणले सामाजिक सञ्जालमा चर्चामा रह्यो। ‘कसले दिन्छ तिमीलाई मेरो जस्तै माया’, ‘सुन्यौ की सुनेनौँ’ गीत गीतलाई धेरैले रुचाए । तर पनि गीतको भने खासै चर्चा भएन । तर ट्रेलरका संवाद समेटिएका ट्रोलहरु भने फिल्म हलमा नलाग्दै फेसबुकलगायतका सामाजिक सञ्जालमा भाईरल बने ।

यूवा पुस्ताका रोजाइमा रहेका नायक सुशील श्रेष्ठ र नवनायिका रुबिना थापा अभिनीत फिल्म लभ डायरीको ट्रेलर जत्तिकै पुरै फिल्म दर्शकलाई उत्कृष्ट लाग्न सक्छ त ? थुप्रै अपेक्षा बोकेर हलसम्म पुगेका दर्शकले फिल्म हेरेर निस्कँदा निराश हुनपर्छ ? भरपुर मनोरञ्जन लिई सन्तुष्ट भएर फर्कने अवस्था छ  ? आउनुहोस् फिल्मको विषयमा केही कुराहरू केलाउँ ‘लभ डायरी’ समीक्षामा ।

फिल्मलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । साहिल खान एसोसिएट निर्देशक हुन् । फिल्म हेर्दै जाँदा अन्तमा पुगेपछि लाग्छ यी प्रतिभा शाली दुई निर्देशक नै फिल्ममा हिरो बनेका छन् । अभिनयको हिसाबले नभई फिल्मको क्लाईमेक्स, सस्पेन्स र फ्ल्यासब्याकका हिसाबले । सौरभ चौधरीको कप्तानीमा फिल्ममा जोडिएका छन् नायक सुशील श्रेष्ठ, नायिका रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाहीलगायतका कलाकारहरू ।

मुख्य नायक सुशील श्रेष्ठ फिल्ममा निर्माण नरसिंह राणा नाम दिइएको छ । सम्भ्रान्त परिवारका उनी आफ्ना बाबुसँग लन्डनमा बस्छन् । अर्का मुख्य पात्र राम छन् । साधारण परिवारका उनी पनि लन्डन ५ वर्षको लागि गएका हुन्छन् । तर १५ महिनामै स्वदेश फर्कन्छन् । नायिका  रुविना थापाको नाम फिल्ममा ‘सम्झना मल्ल’ छ । नेपालमै बस्ने सम्झनालाई बाबुले डाक्टर पढाउन चाहन्छन्  । तर उनी  ईन्टेरियल डिजाइनमा खुब रुचि राख्छिन् । सोही सोखले निर्माणसँग उनको भेट गराएको छ । सँगै राम पनि त्यही जोडिन्छन् । फरक–फरक भूगोलमा बसेका उनीहरू अन्तत एकै ठाउँमा जोडिन पुग्छन् ।

सम्झनालाई निर्माणले धेरैजसो ‘चेरी ब्याग’ नामले सम्बोधन गर्छन् । निर्माणले किन त्यो  नामले बोलाउँछन्, भनेर हेर्न भने यहाँ उल्लेख गरिरहनुभन्दा फिल्म हेर्दा नै मज्जा आउला । त्यही सेरोफेरोमै घुमेको कथामा कहिले हाँस्दाहाँस्दै भावुक हुँने र भावुक हुँदाहुँदै हाँस्ने क्षण आई पुग्छ। निर्माण, राम र सम्झनाको त्रिकोणात्मक प्रेम कथा यहाँ देखाइएको छ । रामले सम्झनालाई आफूले मन पराएको कुरा भन्न सक्दैन । प्ले व्वाईको  रूपमा चिनिएका निर्माणले भने सम्झनालाई खासै वास्ता गरेका देखिँदैनन् । पछि एकै ठाउँको बसाई बाट छुट्टिने समयमा मात्र निर्माणले सम्झनाको अभाव महसुस गर्छन् । नजानिँदो पारामा उनी प्रेममा परिसकेका हुन्छन् । तर राम र निर्माणले एक आपसमा असल साथीको रूपमा सहयोग गर्नकै लागी सम्झनालाई आफूले प्रेम प्रस्ताव नराख्ने प्रण गर्छन् । अन्ततः रामले निर्माणको लागी सम्झनालाई प्रेम प्रस्ताव राख्छन् भने निर्माण रामका लागी । त्यसपछि अगाडि बढ्दै जाने कथासँगै निर्माण र सम्झनाको प्रेम कसरी मोडिँदै जान्छ भन्ने बुझ्नका लागि फिल्म हर्नुपर्ने हुन्छ । 

फिल्मको पहिलो भागका केही भागहरू भने कमजोर देखिन्छन् । गन्थन–मन्थन गरेर दर्शकलाई  अलमल्याए जस्ता देखिन्छन् । तर अन्तसम्म हेर्दा नजानिँदो पारामा माया कसरी बस्छ र नोकझोकमा भएको रिईसीबी कसरी मायामा बदलिन्छ भन्ने कुरा शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ । 

प्रेम कथामा निर्माण भएको यो चलचित्रको कथा मधु बास्तोलाले लेखेका हुन् । जसमा पटकथा तथा संवाद निर्देशक सौरभ चौधरी मधु बास्तोलाले मिलेर तयार पारेका हुन् । अधिकांश संवादहरू चोटिला र रचनात्मक छन् । लभ डायरीलाई विनोद सापकोटाले निर्माण गरेका हुन् ।  जसमा अर्जुन पोखरेलको सङ्गीत, विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

नायक नायीकाका कमजोर र उत्कृष्ट पक्ष
होस्टेल फिल्मबाट अभिनयमा आएका चकलेटी नायक हुन् सुशील श्रेष्ठ । उनीप्रति युवा पुस्ताको बेग्लै अपेक्षा  छ । यो फिल्मबाट अपेक्षा जगाउनु शुशीललाई आफैमा सफलता हो । जसमा अपेक्षा पूरा गर्ने चुनौती सफल रूपमा पुरा गर्न सफल देखिएका छन् । यसअघि कारखाना, बादशाह जुट जस्ता फिल्ममा केही फरक भूमिका निर्वाह गरेका शुशीलको यहाँ देखाइएको मुख्य प्रस्तुति भने झनै दमदार देखिन्छ । 
यही फिल्मबाट डेब्यू गरेकी नायिका रुबिना थापाले आफ्नो चरित्रमा न्याय गर्दै फरक छाप छोडेकी छिन् । यही फिल्मबाटै नवनायीका रुबिना नेपाली फिल्म उद्योगमा जम्न सक्छिन् भन्ने आशा गर्न सकिन्छ । उनको अभिनयकलाले दर्शकको मन जितेका छन् । उनको अभिनय प्राकृतिक लाग्छ । जीवन्त अभिनय निरन्तर छ । लभ डायरीमा रुविनासंग सुशीलको लभ जोडी स्क्रिन प्रेजेन्स राम्रो छ । तर केही दृश्यमा यी दुवैको मुहारमा कुनै भाव देखिन्न र दर्शकलाई प्रभावित पार्न सक्दैन । 

फिल्ममा टेलिसिरियलमा लोकप्रिय हाँस्य कलाकार विष्णु सापकोटा हर्के हल्दारको प्रशंसा गर्न लायक अभिनय छ । होटका म्यानेजरको भूमिकामा रहेका उनै ‘पाण्डे जी’ले फिल्म आफ्नै कथामा बग्दै गइरहँदा बिचबिचका दर्शकहरूलाई पेट मिचिमिचि हसाँउछन् । 
टिकटकबाट चर्चा कमाएका टुईन्स दिदीबहिनीले । ‘कसले दिन्छ तिमीलाई मेरो जस्तै माया’ गीतमा नायिका रुविनालाई साथ दिएका छन् । १४ वर्षीय भारइरल दोहोरी गायिका कमला घिमिरेको दोहोरी गीतले पनि फिल्मलाई रोचकता थपेको छ । यीनै कलाकारका अभिनय चर्चा गर्दै दर्शकहरू हलबाट बाहिर निस्किएका भेटिन्छन् ।

नेपाली फिल्म उद्योगमा यो चलचित्रले इतिहास राख्ला भन्न त नसकिएला तर पछिल्लो समय बन्दै आएका परम्परागत फिल्म भन्दा २ कदम अगाडि भने पक्कै छ । कथावस्तु, पटकथा र संवाद अभिनय, सुटिङ लोकेसन, सन्सपेन्सका आधारमा उत्कृष्ट लाग्छन् । यसको आधारमा फिल्मले हलहरूबाट अरू फिल्मभन्दा राम्रो आम्दानी गरेको अनुमान गर्न सकिन्छ । 

अन्त्यमा 
नेपाली सिने उद्योगको ‘नेप्से’ बर्षेनी बढ्दो छ । नयाँ र मौलिक कथावस्तु समेटेर निर्माण भएका चलचित्रहरूले राम्रो व्यापार गरिरहेका छन् । यसैको लाइन परेको छ भन्दा फरक पर्दैन ‘लभ डायरी’ पनि । समग्रमा २०७६ सालमा नेपाली चलचित्र क्षेत्र उत्साहजनक नभए पनि केही बाहेक धेरैले सन्तोषजनक मात्र व्यापार गरे छन् । अझै धेरै डुबेका छन् ।  वर्षको अन्यतिर चलेको यस ‘लभ डायरी’ व्यापार कस्तो भयो भन्ने हिसाब–किताब त सार्वजनिक भएको छैन । तर फिल्म भने यो वर्षमा  प्रदर्शनमा आएका मध्येमा औंलामा गनिनेमा पर्ने दर्शकहरूको प्रतिक्रिया छ ।

पछिल्लो समय फिल्म क्षेत्रमा आलोचना र आत्मरतिमा रमाउने प्रवृत्ति मौलाउँदै गईरहको छ । फिल्म निर्माणमा विषयवस्तुको ठुलो समस्या उत्पन्न भएको छ । मानौँ की विषयवस्तुको खडेरी नै लागे जस्तो । जति फिल्महरू रिलिज भए सबैको विषयवस्तुमा पूर्ण समस्या नै समस्या छ । तर लभ डायरीमा भने चलनचल्तीमै रहेको प्रेमकथालाई सामाजिक विषयवस्तुमा टुईष्ट गरी उत्कृष्ट रूपमा प्रस्तुत गरिएको छ । जुन पक्ष दर्शकले मन पराउने मात्र नभई  फिल्म समीक्षकहरूले पनि रुचाउने देखिन्छ । 

फिल्म : लभ डायरी
निर्देशक : सौरभ चौधरी
निर्माता : विनोद सापकोटा
कथा : मधु बास्तोला
कलाकारहरू : सुशील श्रेष्ठ, रुविना थापा, विश्वजीत रिमाल, विशाल पहारी, विष्णु सापकोटा, अर्जुनजंग शाहीलगायत
रेटिङ : ३\५

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि