जेठ ०९, २०८१, बुधबार
               

धुलिखेलले कोरोनाबाट मृतकका परिवारलाई किरिया खर्च दिने

नेपाल फ्ल्यास
जेठ २०, २०७८

ADVERTISEMENT

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप १५ हजार रुपैयाँ दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् तथा मनोबल बढोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ । 

‘महामारीको यस घडीमा नगरको सहयोगले मृतक परिवारलाई केही राहत पुग्ने विश्वास गरेका छौँ’, नगरप्रमुख अशोक ब्याञ्जूले भने । उनका अनुसार कोरोना संक्रमितको अवस्था बुझ्दै उनीहरुको सम्पर्कमा आएकालाई परीक्षणको दायरामा ल्याउने तथा मृत्यु भएकाको र संक्रमित परिवारमा देखिने समस्या पहिचान गर्दै स्वास्थ्य सामग्री र औषधि वितरणको काम भइरहेको छ । 

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय संक्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् संक्रमणबाट २८ को मृत्यु भइसकेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३२५ मा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) का अनुसार पछिल्लो २४ घण्टामा २७३ संक्रमण मुक्त भएका छन् भने तीनको मृत्यु भएको छ । कोरोना संक्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय सङ्क्रमित रहेका छन् ।

कुल संक्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय संक्रमित रहेको केन्द्रले जनाएको छ ।

कुल संक्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना संक्रमितको मृत्यु भएको छ । 


कस्तो लाग्यो ?

यो पनि