बैशाख १६, २०८१, आइतबार
               

‘भारत, चीन र बङ्गलादेशमा बेच्ने गरी विद्युत् उत्पादन गर्नुपर्छ’ –रायमाझी

रासस
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका केही वर्षमा ऊर्जा निर्यातबाट मुलुकलाई समृद्धिउन्मुख बनाउन सकिने बताए ।

‘हाइड्रो इनर्जी र सौर्य इनर्जीमार्फत अगाडि बढ्नुको विकल्प छैन, छिमेकी भारत, चीन र बङ्गलादेशलाई ऊर्जा बेच्ने गरी उत्पादन गर्नुपर्दछ’, मन्त्री रायमाझीले भने, ‘स्वदेशमा इनर्जी खपत बढाउने गरी उद्योगधन्दा सञ्चालन गर्ने र बाँकी बिजुली छिमेकीलाई बेच्नुपर्दछ ।’ उनले अब झोलामा खोला हालेर हिँड्नेहरुको दिन सकिएको र ऊर्जा उत्पादन बढाउन द्रुतस्तरमा काम भइरहेको जानकारी दिए ।

उनले मुलुकको एजेण्डा दिगो विकास र समृद्धि भएको जनाउँदै तत्कालीन समयमा १८ घण्टे लोडसेडिङ अन्त्य गर्न ९९ बुँदे मास्टर प्लान बनाएर अघि बढेपछि लोडसेडिङ अन्त्य हुन सफल भएको उनको भनाइ थियो । उनले आफू पहिलोचोटी ऊर्जामन्त्री हुँदा पनि देशमा भूकम्प नाकाबन्दीका कठोर दिनको सामाना गरेको स्मरण गर्दै अहिले दोस्रोपल्ट पनि कठिन परिस्थितिमा जिम्मेवारी सम्हालेको बताए । ‘समय कठिन छ अप्ठ्यारोमा पारेर छाडेको अवस्थामा मन्त्रालय सम्हालेको छु, मुलुकलाई गति दिने गरी काम गर्छु,’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद वलीले नेपाललाई अग्र्यानिक राष्ट्र बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि सौर्य ऊर्जा पनि महत्वपूर्ण हुने बताए । राष्ट्रिय विद्युत् प्रसारणमा सौर्य ऊर्जाको १० प्रतिशतभन्दा बढी योगदान रहने भएकाले व्यसायीलाई त्यसतर्फ योजनाबद्ध लाग्नुपर्नेमा उनको सुझाव थियो ।

मन्त्रालयका सचिव दिनेश घिमिरेले ९९ बुँदे श्वेतपत्रले मुलुकमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै बदलिँदो परिवेशअनुसार त्यसलाई परिमार्जन गरी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

 

मल्लका अनुसार साधारणसभामा देशभरका ६० जना सौर्य उत्पादक व्यवसायीको सहभागिता थियो ।

 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि