काठमाडौं । सरकारले काठमाडौंबाट हिमाली र पहाडी भेगका विमानस्थलमा आन्तरिक उडानको तयारी गरेको छ ।
सो प्रयोजनका लागि निजी क्षेत्रका वायुसेवा कम्पनीसँग छलफल थालिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् ।
मन्त्री भट्टराईका अनुसार तराईका जिल्लामा बढ्दो कोरोना भाइरसको संक्रमणका कारण ती क्षेत्रबाहेकका विमानस्थलमा हवाई उडान खुलाउने तयारी भइरहेको छ । ‘हिमाली भेगका विमानस्थलमा उडान खोल्नका लागि आफूले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छु,’ उनले भने, ‘अन्तर्राष्ट्रिय उडान भने १६ भदौबाट खुल्नेछ ।’
यसका अलवा उनले मन्त्रालयले केही गन्तब्यमा चार्टर्ड उडानको तालिका सार्वजनिक गर्ने पनि बताए । नियमित उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणमा उडानका लागि निवेदन दिएका १३ वटा कम्पनीलाई नै पहिलो चरणमा अनुमति दिने उनले बताए ।
उनले भने, ‘सरकारले पिसिआर परीक्षण सहज हुने मुलुकमा मात्र पहिलो चरणमा उडानको अनुमति दिनेछ । अन्य मुलुकमा भने चार्टर्ड जहाज पठाएर नेपालीको उद्धार हुनेछ । १५ भदौपछि अधिकतम् प्रतिदिन ५ सय जनाले नेपाल आउने अनुमति पाउनेछन् ।’