जेठ ०४, २०८१, शुक्रबार
               

सात पालिकाको बजेट नौ अर्ब

रासस
असार ११, २०७७

ADVERTISEMENT

चितवन । जिल्लाका सात पालिकाले आगामी आर्थिक वर्षका लागि नौ अर्ब ४० करोडभन्दा माथिको बजेट विनियोजन गरेका छन् ।

एक महानगरपालिका र पाँच नगरपालिकाले बुधबार बजेट सार्वजनिक गरिसकेका छन् भने गाउँपालिकाको गणपूरक सङ्ख्या नपुगेका कारण सरेको छ ।

स्थानीय तहले सामान्य ढङ्गबाट परिक्षण गरिरहेका छन् । अतिथि समेत नवोलाई भरतपुर महानगरपालिकाले परिषद् सदस्य र कर्मचारीका माझ नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको हो । जसमा  चार अर्ब १५ करोड ६४ लाख बजेट सार्वजनिक गरिएको छ । 

महानगर प्रमुख रेनु दाहालका अनुसार बजेटले कोभिड–१९ को प्रभावलाई न्यूनीकरण गर्दै स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी सिर्जना र पूर्वाधार विकासलाई जोड दिएको छ ।

रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७७ ०७८ का लागि  एक अर्ब १४ करोड बजेट ल्याएको छ । नगर प्रमुख नारायण वनले बजेटमा कृषि, रोजगार, स्वास्थ्य तथा शिक्षालाई  प्राथमिकता दिइएको बताए ।

खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७७ /०७८ का लागि ७७ करोड ८५ लाख बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख लालमणि चौधरीले यसपटकको बजेटले कृषि, पशुपालन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको बताएको छ । 

यस्तै राप्ती नगरपालिकाले ८२ करोडको बजेट ल्याएको छ । नगरप्रमुख प्रभा बरालका अनुसार समग्रमा बजेट कम भए पनि वडालाई दिने बजेट घटाइएको छैन । यसपटक राप्तीका पहाडी वडाले एक करोड ५० लाखसम्म पाएका छन् ।

राप्तीले खरका छानो मुक्त गर्ने अभियानदेखि कृषिलाई प्रमुख प्राथमिकता दिएको हो । माडी नगरपालिकाले ८८ करोड ७० लाखको बजेट ल्याएको छ ।

यसपटक युवा स्वरोजगार कार्यक्रममा माडी नगरपालिकाले शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने कार्यक्रम ल्याएको प्रमुख ठाकुर ढकालले बताए । स्वास्थ्य, कृषि, रोजगार, सडकलाई प्रमुख प्राथमिकता दिएको छ । 

कालिका नगरपालिकाले २०७७ / ७८ का लागि  एक अर्ब चार करोड ९२ लाखको बजेट ल्याएको छ । कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठका अनुसार कालिकाको नयाँ कार्यक्रम जनता आवास कार्यक्रममार्फत विपन्नलाई घर बनाइएको छ । 

इच्छाकामना गाउँपालिकाले यसपटक ५६ करोड ९६ लाख बजेट ल्याउँदै छ । गाउँपालिका प्रमुख गीताकुमारी गुरुङले विपन्नको आँगनमा स्थानीय सरकार कार्यक्रम यस पटकबाट शुरु गरिने भएको छ ।

बजेटले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिएको उनले जानकारी दिए । गाउँपालिका उपप्रमुख कृतिकुमार श्रेष्ठका अनुसार बुधबार गणपूरक सङ्ख्या नपुगेर रोकिएको परिषद् आज हुँदैछ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि