बैशाख १७, २०८१, सोमबार
               

फेरि बल्झियो इलामको चिया आन्दोलन

रासस
असार ०४, २०७७

ADVERTISEMENT

इलाम । सदावहार जस्तो चल्ने इलामको चिया आन्दोलन यस वर्ष पनि सुरु भएको छ । उद्योगीले हरियो चियापत्तीको मूल्य उचित नभएको भन्दै किसान आन्दोलित भएका हुन् ।

उद्योगीले विभिन्न बाहना बनाउँदै कम मूल्य दिएको र नगरपालिकाले बनाएको चियाको मूल्यको मापदण्डअनुसार पनि लागत नदिएको किसानको गुनासो छ । उद्योगले हरियोपत्तीमा लागत नै नउठ्नेखालको मूल्य कायम गरेपछि किसान संघर्षका लागि एकजुट हुन बाध्य भएका हुन् ।  

किसानले उत्पादन गरेको हरियोपत्तीको मूल्य सधैँ उद्योगीले निर्धारण गरिदिने भएकाले आफूहरू मारमा परेको किसान बताउँछन् । उद्योगमा हरियोपत्ती बेच्न नपाए आफूहरूको वर्षभरको आम्दानी गुम्ने भएकाले किसान पनि उद्योगीले तोकेकै मूल्यमा आफ्नो उत्पादन बेच्न बाध्य छन् ।

तर, यो वर्ष चाहिँ सूर्योदय नगरपालिकाले दुई वर्षअघि तोकेको हरियोपत्तीको न्यूनतम् समर्थन मूल्यसमेत उद्योगीले उल्लङ्घन गरेपछि किसान सङ्गठित भएरै संघर्ष गर्ने निर्णयमा पुगेका हुन् ।  

किसानले नगरको वडा ८, १० र ११ मा ‘हरियो चिया उत्पादक कृषक सरोकार समिति’ गठन गरिसकेका छन् । चिया उत्पादन हुने नगरका सबै वडा र नगरस्तरको समेत समिति गठन गर्ने तयारी छ ।

समितिको वडा १० का अध्यक्ष बालकुमार भण्डारीले केही दिनभित्र नगरस्तरीय समितिसमेत गठन हुने बताए । उनले सधैँ किसान हेपिने भएकाले अब सङ्गठितरूपमा आवाज उठाउन आवश्यक भएकाले नगरपालिकाभर संघर्षकै लागि समिति गठन भइरहेको जनाए ।
    
उद्योगले नगरले तोकेको न्यूनतम् समर्थन मूल्य कार्यान्वयन नगरेको भन्दै नगरका किसानले मङ्गलबार नगरपालिकामा ६ बुँदे ज्ञापनपत्रसमेत बुझाएका छन् । किसानले नगरले लागू गरेको गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५ पूर्णरूपमा कार्यान्वयन गर्न, पहिलो चरणमा टिपेर उद्योगमा पु¥याएको हरियोपत्तीको मूल्य दिलाइदिने पहल गर्न, लकडाउनका कारण पीडित बनेका किसानलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।  
    
न्यूनतम् समर्थन मूल्यले हरियोपत्तीको बजार नियन्त्रण गरेकाले आन्तरिक र भारतीय बजारसमेत खुला गर्न तथा चियाको उत्पादन, मूल्यबारे बारम्बार आइरहने समस्याको दीर्घकालीन समाधान गर्न पनि किसानको माग छ । नगरको कार्यविधिले हरियोपत्तीको न्यूनतम् समर्थन मूल्य प्रतिकिलो ४० रुपैयाँ तोकेको छ तर, यहाँका उद्योगले किसानलाई प्रतिकिलो २० देखि ३० रुपैयाँ मात्र दिनेगरेका छन् । सूर्योदय टी प्रोड्युसर्स एशोसिएशनमा आबद्ध ६२ उद्योगमध्ये धेरैले किसानको चियाको मूल्य भुक्तान गर्न बाँकी छ । केही उद्योगले प्रतिकिलो २० देखि ३० रुपैयाँ प्रतिकिलोको मूल्य नै सार्वजनिक गरेका छन् । कतिपय उद्योगले रु २० देखि ३० कै मूल्य भुक्तान गरिरहेका छन् । हरियोपत्तीको दाम भुक्तान गर्न बाँकी केही उद्योगले चाहिँ ‘समस्या समाधान भएपछिमात्रै भुक्तान गर्ने’ भन्दै भुक्तानी रोकेका छन् ।  

नगरपालिकाका प्रमुख रणबहादुर राईले चिया किसानलाई आफ्नो उत्पादन बेच्नैपर्ने बाध्यता भएकाले पनि कम मूल्यमा बेच्नुपरेका बेला नगरले कार्यविधि ल्याएको बताए । ‘नगरपालिकाले चिया तथा कफी विकास बोर्ड, उद्योगी, किसानलगायतकै सहभागिता र सल्लाहमा चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो’, उनले भने, ‘त्यही कार्यविधि अहिले चिया किसान र उद्योगी दुवैको निम्ति उपयोगी छ ।  उद्योगीले भने राज्यले कच्चा पदार्थको समर्थन मूल्य तोक्दा तयारी वस्तुको पनि बिक्री समर्थन मूल्य तोक्नुपर्ने माग गरेका छन् । तोकिएको समर्थन बिक्री मूल्यमा बिक्री नभए राज्यले नै खरिद गरी दुवै पक्षलाई न्याय दिलाउनुपर्ने उनीहरूको माग छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि