काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्स आज तेस्रो पटक अस्ट्रेलियामा चार्टर्ड उडान गर्दैछ ।
निगमको वाइड बडी ए ३३० जहाज अस्ट्रेलियाको राजधानी क्यानबेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अस्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४:५५ बजेका लागि काठमाडौँ–क्यानबेरा उडान तालिका तय भएको निगमको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
नेपालस्थित अस्ट्रेलियाली दूतावासले वाइडबडी जहाज चार्टर्ड गरेको निगमले जनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका अस्ट्रेलियाली र न्युजिल्यान्डका नागरिक तथा छुट्टीमा आएका ‘पिआर होल्डर’ नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले लैजान लागेको हो ।
यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले अस्ट्रेलियाको सिड्नीमा चार्टर्ड उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइडबडी जहाजले पहिलो पटक गत चैत १९ गते अस्ट्रेलियाको ब्रिसबेनमा चार्टर्ड उडान गरेको थियो । यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करिब १२ र १३ घण्टाको थियो । निगमको पुनः अस्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अस्ट्रेलियाबीच हवाई सम्झौता भइसके पनि नियमित उडान हुन सकेको छैन ।