जेठ ०१, २०८१, मंगलबार
               

बजेटमा आश्वासनका पोकामात्र बाँडियो : अध्यक्ष राणा

नेपाल फ्ल्यास
जेठ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति सम्सेर राणाले कोरा कल्पनामा आधारित बजेटको कारण आकाश छुने मूल्य वृद्धि हुने निश्चित रहेको बताएका छन् ।

अध्यक्ष राणाले बजेटबारे प्रतिक्रिया जनाउँदै भनेका छन्- ‘यो बजेटको ठूलो हिस्सा कोरा कल्पनामा आधारित देखिन्छ । बेरोजगारी हटाउने आश्वासनका थुप्रै पोकाहरू बाँडिएका छन् । तर समाधान हुने ठोस आधार देखिँदैन । अझ ठूलो चिन्ताको विषय त विकासलाई कसरी गति दिने भन्ने नै हो ।’

उनले कोरोना भाइरस बढेर महामारीको रूप लिने स्पष्ट खतराबीच स्वास्थ्य क्षेत्रको बजेट बढाएको पनि त्यो धान्न सक्ने अवस्थामा नरहेको जनाएका छन् ।

उनका बजेटप्रति ७ बुँदे प्रतिक्रिया यस्ता छन् :

१. ३५% घाटा भएको बजेटले आकाश छुने मूल्य वृद्धि निम्त्याउने पक्कै छ । त्यसलाई बजेटले कसरी सम्बोधन गर्छ ?

२. विप्रेषणबाट हुने विदेशी मुद्राको आम्दानी घट्छ । पर्यटनबाट त ठ्याप्पै हुन्छ । यसरी आयात गर्ने विदेशी मुद्राको खाँचो पर्छ । खाँचोका कारण या त हामीले आयात घटाउनु पर्छ या शोधनान्तर स्थितिको संकट बेहोर्नु पर्छ ।

३. जनताको हातमा नगद नभई माग बढ्दैन, माग नबढी अर्थतन्त्र नै चलायमान हुँदैन ।

४. कुल बजेटको २३.९% मात्र विकास बजेट छ । त्यति थोरै पुँजीगत खर्चले कसरी ७% को वृद्धिदर हासिल हुन सक्छ ? वृद्धिदरको लक्ष्य नै विकासयोग्य भएन ।

५. ऋणको किस्ता र ब्याज तिर्न बजेटको ११.७% खर्च हुने प्रक्षेपण छ । के यो धान्न सकिन्छ ?

६. उद्योग र व्यवसायलाई कुनै अनुदान नदिई थोरै मात्र कर छुटको सुविधा दिइएको छ । कोरोना र त्यसले ल्याएको लकडाउनले थलिएको उद्योग व्यवसाय के यत्तिकैले पुनर्जीवित/ पुनर्स्थापित हुन सक्छ ?

७. अहिले विश्वको आर्थिक परिस्थिति (मन्दीको सम्भावना) हेर्दा बजेटले आश गरेको ऋण र अनुदान दुवै उपलब्ध हुने झिनो सम्भावना छ । त्यसैले बजेटले देखाएको ५ खर्ब ७४ करोड ३३ लाखको न्यून आन्तरिक वा बाह्य श्रोतबाट कसरी पूर्ति गर्ने भन्ने भरपर्दो आधार छैन ।

यो पनि