जेठ ०४, २०८१, शुक्रबार
               

सुनकोशी मरिन डाइभर्सन आयोजना अगाडि बढ्ने

रासस
जेठ १५, २०७७

ADVERTISEMENT

काठमाडाै‌ । सरकारले नदी पथान्तरण आयोजनालाई विशेष रुपमा अगाडि बढाइरहेको सन्दर्भमा तराई–मधेशमा सिँचाइ सुविधा उपलब्ध गराउने सुनकोशी मरिन डाइभर्सन परियोजनाका लागि बजेट विनियोजन गरिएको छ । 

अर्थमनत्री डा. युवराज खतिवडाले बिहीबार आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा सुनकोशी मरिन डाइभर्सन आयोजनाका लागि दुई अर्ब ४६ करोडबराबरको बजेट विनियोजन गरेको बताए । 

सो रकम सुरुङमार्ग निर्माणलगायत काममा खर्च गरिने भएको छ । 

सो आयोजनाको चालू आवमा नै प्रारम्भिक काम सुरु भइसकेको छ । 

सो आयोजनाबाट प्रदेश नं २ का बारा, पर्सा, रौतहटलगायतका जिल्लाका एक लाख २१ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । 

सो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ । 

स्रोत तथा सिँचाइ विभागले अघि बढाइरहेको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ । 

आयोजनाका प्रमुख सुशील आचार्यका अनुसार सुरुङको डिटेल डिजाइन निर्माण कार्यसमेत सकिन लागेको छ ।

वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन निर्माणको अन्तिम चरणमा छ ।

आयोजनाको सुरुङ खन्न प्रयोग गरिने टनेल बोरिङ मेसिन (टीबीएम) को डिजाइनसमेत निर्माण भइरहेको आचार्यले जानकारी दिए । 

सुनकोशीको पानी मरिनमा सुरुङमार्फत लगेर जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कुल ४६ अर्ब १९ करोड लाग्ने अनुमान गरिएको छ । 

यस्तै, बाँकी संरचना निर्माण गर्नका लागि झन्डै ३० अर्ब लाग्ने बताइएको छ । आयोजनाबाट कुल २८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–६ को कानढुङ्ग्री नजिक सुनकोशी नदीमा १२ मिटर उचाइको बाँध राखी ६७ क्युविक प्रतिसेकेन्ड पानी १३.१ किलोमिटर सुरुङबाट कमलामाई नगरपालिका–२ को कुसुमटारस्थित मरिन खोलामा पानी खसाल्ने गरी डिजाइन गरिएको छ ।  

चालू आवमा समेत सो आयोजनाका लागि  दुई अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि