बैशाख १६, २०८१, आइतबार
               

पर्यटक लोभ्याउँदै तोरीखोला

रासस
फागुन ३०, २०७६

ADVERTISEMENT

बाग्लुङ । प्रकृति र संस्कृति तोरीखोलाको छुट्टै मौलिकता हो । बाग्लुङ जिल्लाको गलकोट नगरपालिका वडा नं २ मा पर्ने ती सुन्दर दुई गाउँ दुई हजार ३०० मिटर उचाइमा रहेको कालीलेक धुरीको काखमा छ ।

मगर जातिको बाहुल्यता रहेको त्यहाँ वरपरका रमणीय गाउँ बस्तीले जो कोहीलाई लोभ्याउँछ नै स्थानीयवासीको आतिथ्यता उत्तिकै राम्रो छ । मगर जातिमा आधारित मारुनी नाचलगायतका विभिन्न संस्कृतिमा समेत धनी सो गाउँलाई पर्यटकीयरुपमा उजागर गर्नका लागि घरवास ९होमस्टे० कार्यक्रम शुरु गरिएको छ ।

सोे गाउँमा प्राचीनकालदेखि नै तोरीको राम्रो उत्पादन हुने गरेको र गाउँ हुँदै खोलासमेत बगेको हुँदा तोरीखोला नाम रहन गएको यहाँका बुढापाका बताउँछन् । तोरीकै कारण गाउँको पहिचान बने पनि पछिल्ला वर्षमा भने तोरीभन्दा पनि अन्य तरकारी लगायतका खेती गर्नेक्रम बढेको छ ।

गाउँका प्रकृति र संस्कृतिलाई उजागर गर्दै पर्यटन बजारमा पु¥याउनका लागि घरवास कार्यक्रम शुरु गरिएको गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिमबहादुर भण्डारीले  जानकारी दिए ।

‘बाग्लुङ हुँदै ढोरपाटन जाने मुख्य सडक मार्गबाट केही समयमा नै पुग्न सकिने भएकाले पनि तोरीखोला सामुदायिक होमस्टेको सम्भावना बलियो छ’, उनले भने, ‘घरवासका माध्यमबाट यस ठाउँको प्रवद्र्धनका साथै स्थानीयको आयआर्जनमा जोड दिने हाम्रो लक्ष्य हो ।’

घरवासमा आउने पर्यटकले स्थानीय प्राङ्गारिक उत्पादनको स्वाद लिनुका साथै मगर संस्कृतिमा आधारित गीत तथा नृत्यमा भरपुर मनोरञ्जन लिन पाउने तोरी खोला सामुदायिक घरवासका अध्यक्ष कुमार पुनले जानकारी दिए ।

घरवास सञ्चालनको अनुभव लिदै आँफूहरू अघि बढेको बताउँदै उनले प्रकृति र संस्कृतिका माध्यमबाट पर्यटकलाई फेरीफेरी आउन मन लाग्ने किसिमको वातावरण तयार गर्ने प्रयास थालिएको बताए ।

घरवाससँगै गाउँको शिरमा रहेको कालीलेक धुरीलाई पनि पर्यटकीयरुपमा जोड्ने लक्ष्य राखिएको छ । तोरीखोलाबाट करिब डेढ घण्टाको उकालो चढ्दै पुगेपछि त्यहाँबाट देखिने रमणीय दृश्यले पर्यटक थकाइ बिर्सन्छन् ।

गुराँस, गुएली जस्ता विभिन्न प्रजातिका बनस्पतिको भण्डार जस्तै रहेको सो लेकबाट धवलागिरिलगायतका हिमशृङ्खलासहित बाग्लुङका गलकोट, ताराखोलालगायतका विभिन्न स्थानको दृश्य एकसाथ नियाल्न सकिन्छ । फागुन चैतको समयमा त राताम्यै फूलेको लालीगुराँसले ढाकिएको कालीलेक निकै मनमोहक देखिन्छ ।

वडाध्यक्ष भण्डारीका अनुसार गैरे सेवा समाज जापानसँगको सहकार्यमा गलकोट नगरपालिका र वडाले सह लगानीमा सिँढीबाटो निर्माणसहित भ्युटावर निर्माण गर्ने लक्ष्य राखिएको छ ।

आउने पर्यटकले छोटो समयमको पदयात्रासहित हिमाली एवं पहाडी भू–भागको दृश्यावलोकन र घरवासको अनुभव एक साथ लिन पाउनेछन् । घरवास सञ्चालनसँगै स्थानीयवासी उत्पादनमा समेत जोडिने बताउँदै उनले आएका पर्यटकले प्राङ्गारिक उत्पादनका स्थानीय परिकारको स्वाद लिन पाउने बताए ।

तोरीखोला सामुदायिक घरवाससहित गलकोटमा मात्रै चार वटा घरवास सञ्चालनमा आइसकेका छन् । गण्डकी प्रदेशभित्र सञ्चालित घरवासको स्तरीकरणलाई गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ०ले प्राथमिकतामा राखेको भिटोफ गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारीले जानकारी दिए ।

प्रदेशअन्तर्गत विभिन्न जिल्लामा सञ्चालित घरवासको स्तरीकरणलाई लक्षित गरी अभिमुखीकरण तालीम सञ्चालन गरिएकामा यही फागुन २२ देखि तीन दिनसम्म गलकोटको नरेठाँटीमा बाग्लुङ जिल्लामा सञ्चालित घरवासका सञ्चालकलाई तालीम दिइएको उनले बताए ।

कार्यक्रम संयोजक श्याम लामिछानेका अनुसार तालीममा बाग्लुङका तोरीखोला सामुदायिक घरवाससहित ३० घरवासका ६० जनाको सहभागिता थियो ।

भिटोफ गण्डकी प्रदेशले सम्भावना बोकेका घरवासको स्तरीकरण र विकासलाई प्राथमिकतामा राखेको संस्थापक अध्यक्ष तारानाथ पहारी बताए । स्थानीय जागरुकता भएका अवस्थामा भिटोफले सञ्चालित घरवासको प्रवद्र्धनमा समेत सहयोग गर्दै आएको उनले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि