जेठ ०५, २०८१, शनिबार
               

रामपुरमा 'अण्डा र झण्डा'

रासस
फागुन २९, २०७६

ADVERTISEMENT

रामपुर । पाल्पाको माथागढी गाउँपालिकाले गर्भवतीलाई लक्षित गरी पोषणका लागि अण्डा उपहार कार्यक्रम सञ्चालन गरेको छ । ‘उपाध्यक्ष आमा सुरक्षाः गर्भवतीलाई अण्डा, घरमा हरियो झण्डा’ कार्यक्रमअन्तर्गत गर्भवतीलाई अण्डा उपहार दिन थालेको हो ।

नियमित स्वास्थ्य जाँच गराउन प्रेरित गर्ने र पोषणयुक्त खानामा समेत ध्यान पुर्याउने भएकाले नियमित गर्भ जाँच गराउनेलाई गाउँपालिकाले अण्डा उपहार अभियान सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापामगरले जानकारी दिए  । 

उक्त अभियानबाट गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा जानेको संख्या बढ्न थालेको पाइएको छ । संस्थागत सुत्केरी प्रोत्साहन रकम वितरण गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि अण्डा र झण्डा अभियानलाई पनि सँगसँगै अगाडि बढाएको छ ।

यस कार्यक्रमको लागि गाउँपालिकाले चार लाख रुपैयाँ विनियोजन गरेको जनाइएको छ । ‘अझै पनि महिला स्वास्थ्य संस्थामा जान हिचकिचाउने पनि यदाकदा छन्, उनलाई नियमित स्वास्थ्य संस्थामा गएर गर्भ परीक्षण गराउन बानी बसाल्न अण्डा उपहार कार्यक्रम ल्याएका हौँ’, उनले भने ।

गर्भ रहेको सामान्यतया चार महिनादेखि नौ महिनासम्म गर्भ जाँच गर्न आउँदा स्वास्थ्य संस्थामार्फत नै अण्डा वितरण गर्न थालिएको छ ।गर्भवती महिला स्वास्थ्य संस्थामा नै गर्भ परीक्षणका लागि पुगेपछि  ३५० रुपैयाँको अण्डा दिन थालिएको छ ।

स्वास्थ्य संस्थामा नै सुत्केरी हुने महिलालाई प्रतिव्यक्ति दुई हजार ५०० रुपैयाँ प्रोत्साहन स्वरुप दिने गरेको रुप्से स्वास्थ्यचौकीका प्रमुख यमबहादुर चिदीले जानकारी दिए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि