बैशाख २६, २०८१, बुधबार
               

लाङटाङमा  विद्युत् विस्तार  तीव्र गतिमा

रासस
फागुन १२, २०७६

ADVERTISEMENT

लाङटाङको पर्यटकीय क्षेत्र र पवित्र धार्मिकस्थल गोसाइँकुण्डलाई केन्द्रित गरी विद्युत् विस्तारका कार्य धमाधम अगाडि  बढिरहेको छ ।

नेपाल विद्युत् प्राधिकरण शाखाका प्रमुख कृष्णहरि दाहालका अनुसार लाङटाङ क्षेत्रका लागि वृद्धिमदेखि लामा होटलसम्म १९ किलोमिटर विद्युत् लाइन विस्तार भइसकेको र लामा होटलदेखि लाङटाङ गाउँसम्म थप छ किलोमिटरको दूरीको लाइन तान्ने काम भइरहेको छ ।

हरेक स्थानमा पूर्ण विद्युतीकरण गरी प्रत्येक नागरिकका घर उज्यालो पार्ने वर्तमान सरकारको नीति कार्यान्वय गर्न र  पर्यटकीय गन्तव्यका रूपमा रहेका  बस्तीलाइनमा  विद्युत् विस्तारको काम तीव्ररूपमा अगाडि बढाइएको शाखाले जनाएको छ ।

पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजनको सुविधाका लागि धार्मिक मार्गअन्तर्गत चन्दनबारीसम्म विद्युत् विस्तार गरिसकिएको र लाङटाङ क्षेत्रको कार्य पूरा भएपछि विद्युत् प्रवाह गरिने उक्त शाखाले जनाएको छ ।

नयाँ विस्तार भएको तारबाट विद्युत् प्रवाह एवं वितरण गर्दासाथ एकातर्फ रातको समयमा घर उज्यालो हुने, अर्कोतर्फ विद्युतीय हिटरबाट खाना पकाउने बानीको विकाससँगै वन जङ्गलको व्ययभारमा कमी आई जैविक विविधता संरक्षणमा  टेवा पुग्ने प्राधिकरण शाखाका प्रमुख दाहालले जानकारी दिए ।

यसैगरी, जिल्लाका सबै गाउँ बस्तीमा विद्युत्  विस्तार भइसकेको र भूकम्पपछिको पुनः निर्माणअन्तर्गत उत्तरगया गाउँपालिका–१ तिरू क्षेत्रमा एकीकृत बस्ती  निर्माणका लागि प्रक्रिया अगाडि बढेको स्थानमा समेत विद्युत् लाइन विस्तार भइरहेको बताइएको छ । 

घर–घरमा विद्युत् लाइन विस्तार गर्ने ग्राहक सङ्ख्या ८ हजार ५ सय  रहेको प्राधिकरणले जनाएको छ । विसं २०४० बाट नुवाकोटको त्रिशूलीदेखि रसुवा जिल्लामा  विस्तार सुरु गरिएको विद्युत् सेवाले ३६ वर्षको दौरानमा ढिलै भए पनि हिमाली क्षेत्रका गाउँगाउँमा विद्युत् प्रवाह हुँदा जिल्लावासी हर्षित भएको नागरिक समाजले जनाएको छ ।

विद्युत् पुग्नुअघि दियालो र टुकी बत्तीको भरमा निर्वाह गरी बस्ने ग्रामीण क्षेत्रका बासिन्दा बत्तीको व्यवस्था भएलगत्तै ब्याट्री चार्जको सहजताले अहिले प्रायःजसोले मोबाइल लिन थालिसकेका छन् ।

आफ्ना नातागोतालाई मोबाइलबाटै सन्चो बिसन्चोका कुरा सोध्ने वातावरण सिर्जना भएको लाङ्वुका सामाजसेवी छेसाङदावा तामाङले बताए । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि