केही दिन अगाडि नेपाल सरकारले भारतिय अतिक्रमणमा परेको भूमि समेटेर नयाँ नक्सा सार्वजनिक गर्यो । जहाँ कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि समावेश गरिएको थियो ।
उक्त नक्सा सार्वजनिक भएपछि दुई देशबीच विवाद सुरु भएको छ । भारतले नेपालले सार्वजनिक गरेको नक्सा स्विकार्य नभएको बताउँदै आएको छ ।
नेपालले नक्सा सार्वजनिक गरेसँगै नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपालको काम प्रशंसनिय भएको भन्दै एक ट्विट गरिन् । सोही ट्विटका कारण पनि अहिले विवाद चर्किएको छ ।
नयाँ नक्सा र सिमानाको विषयमा महा-नायक राजेश हमालले पनि आफ्नो भनाई राखेका छन् । सामाजिक संजालमा लाइभ आएर उनले आफ्नो भनाई रखेका हुन् ।
उनले त्यहाँ लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताएका छन् । उनले भनेका छन्, 'इतिहास नै साक्षी छ कि, लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भू-भाग हो ।’ उनले भारतले पछिल्लो समय गरेको व्यावहार साह्रै दु:खलाग्दो भएको पनि बोलेका छन् ।
भारतले हरेक पटक समस्यामा समस्या थपिदिने गरेको राजेशको आरोप छ । उनले भनेका छन्, 'भुकम्पको समयमा नाकाबन्दी गरिदियो, अहिले कोरोनाको समय सिमाको विवाद । नेपालीले भारतले दिएको दुःख बिर्सन हुन्न ।'
राजेशले सरोकारवाला र सरकारसँग इतिहास, तथ्यांक र प्रमाणको आधार हेरेर कूटनीतिक तवर यो समस्या समाधानको माग पनि गरेका छन् ।