बैशाख १४, २०८१, शुक्रबार
               

सरकारको नीति तथा कार्यक्रम शुक्रबार, मर्यादित पोशाकमा आउन आग्रह

नेपाल फ्ल्यास
जेठ ०१, २०७७

फाइल फोटो
ADVERTISEMENT

काडमाडौं । सरकारको नीति तथा कार्यक्रम भोलि शुक्रबार आउँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठकमा भोलि शुक्रबार अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

नीति तथा कार्यक्रम आगामी आर्थिक वर्षभरि सरकारले लिने नीति तथा गर्ने कामको फेहरिस्त हो । त्यसमा दीर्घकालीन महत्त्वका विषयवस्तु पनि समावेश गरिएको हुन्छ । संविधानको व्यवस्थाअनुसार जेठ १५ गते बजेट प्रस्तुत हुनेछ । सरकारको नीति तथा कार्यक्रमअनुसार बजेट तर्जुमा हुनेछ ।

राष्ट्रपति भण्डारीबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेका सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

नीति तथा कार्यक्रम प्रस्तुत हुनुअगावै ३:४५ बजे बैठक कक्षमा उपस्थिति हुन सबै सांसदलाई संसद सचिवालयले आग्रह गरेको छ । सांसदलाई मर्यादित पोशाकमा उपस्थिति पनि भनिएको छ । सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५९ सांसद छन् । बैठक कक्षमा नअटे बालकोनीमा बस्ने व्यवस्था मिलाइएको छ ।

कार्यक्रममा अतिविशिष्ट, विशिष्ट गरी करिब २९ पाहुनालाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ । उपराष्ट्रपति, संवैधानिक निकायका प्रमुख, पूर्वप्रधानमन्त्री, प्रधानसेनापतिलगायत विशिष्ट व्यक्तिलाई आमन्त्रण गरिएको छ । कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यसपटक कूटनीतिक नियोग तथा निजी क्षेत्रका प्रतिनिधिलाई कार्यक्रममा सहभागिताका लागि खबर गरिएको छैन । संसद् भवन परिसरमा राष्ट्रिय झण्डा फहराइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले संसद्मा तेस्रो पटक आफ्नो नीति तथा कार्यक्रम ल्याउन लागेको हो । अघिल्ला दुई वर्षका नीति तथा कार्यक्रममा समावेश भएजस्तै आर्थिक समृद्धिका कार्यक्रम आगामी आवको कार्यक्रममा समेत समेटिने विश्वास लिइएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोभिड–१९ का कारण परेको समस्यालाई सम्बोधन गर्नेतर्फ नीति तथा कार्यक्रम केन्द्रित हुने बताइएको छ ।

गत वर्ष सरकारले ल्याएको नीति तथा कार्यक्रममा राष्ट्रपतिले 'मेरो सरकार' भनेर सम्बोधन गरेपछि त्यसको विरोध भएको थियो ।

यो पनि