बैशाख १४, २०८१, शुक्रबार
               

काठमाडौँ प्रहरी प्रमुख ज्ञवालीलाई अवसर कि चुनौती ?

ADVERTISEMENT

नेपाल प्रहरीमा काबिल अधिकृतको छवि बनाएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवाली महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका छन् । धेरैको रोजाइमा पर्ने तर चुनौतीका पहाड नाघ्नुपर्ने काठमाडौँको प्रहरी नेतृत्व लिने अवसर थोरैले मात्र पाउँछन् । मुलुकको सङ्घीय राजधानी तथा प्रमुख प्रशासनिक केन्द्र काठमाडौँ भएकाले यहाँको प्रहरीको कामकारबाहीलाई नै सिङ्गो सङ्गठनको कामको रूपमा आम नागरिकले मूल्याङकन गर्ने गर्छन् ।

गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसाआदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनको लागि प्रमुख चुनौती हुनेछ । 

२०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका ज्ञवाली १२ वर्षपछि २०६३ सालमा प्रहरी नायव उपरीक्षकमा बढुवा भए । २०७१ सालमा प्रहरी उपरीक्षक र २०७५ सालमा प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका हुन् । यसअघि महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेका उनी केही दिनअघिबाट मात्रै काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । राजनीतिक हस्तक्षेप र सङ्गठनभित्र हुने अस्वस्थ प्रतिस्पर्धाका यथार्थताको पर्दालाई हटाउँदै ज्ञवालीले संंघीय राजधानी काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने अवसर पाएका हुन् । सङ्गठन प्रमुख ठाकुर ज्ञवालीको सहोदर भाइ रहेका श्याम ज्ञवालीलाई ‘खुबी देखाउने अवसर’ त छँदै छ, त्योभन्दा बढी चुनौतीका चाङ छन् ।

क्विक अपरेसन 

प्रहरीको पहिलो च्यालेन्ज भनेको प्रहरी कर्मचारी परिचालन नै हो । ज्ञवालीले त्यो पहिलो च्यालेन्जलाई पार गर्न सके अहिले देखिएका ५० प्रतिशत समस्या कम हुन्छन् । यसको अर्थ जहाँ प्रहरी कर्मचारीहरू दिइएको दायित्व र जिम्मेवारीमा कर्मचारी समर्पित भएर लाग्छन् । त्यसपछिका चुनौतीहरू सामना गर्न सहज हुन्छ । अहिलेसम्मका उनका पृष्ठभूमि हेर्दा आफूभन्दा तल्ला तहका अधिकारीहरूलाई सहज रूपमा रिझाएर कुशल नेतृत्व गर्दै आएका छन् । त्यो खुबीको सफल प्रयोग दोहोरिएमा उनी सफल बन्नेछन् । 

प्रहरीले गर्ने शान्ति सुरक्षा र अपराध नियन्त्रण नै हो । यसमै एसएसपी ज्ञवालीलाई असाध्यै ठुलो चुनौती छ । सबैलाई थाहा छ, काठमाडौँमा धेरै जनसङ्ख्या र धेरै प्रकृतिका मानिस बस्ने हुनाले आपराधिक घटना बढी हुने गर्छ । गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसाआदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनको लागि प्रमुख चुनौती हुनेछ । 

यस बाहेक काठमाडौँमा विकराल रूपमा रहेको लागुऔषध कारोबार र बेचबिखनमा संलग्नलाई नियन्त्रण गर्नु अर्को चुनौती हो । यसमा आम नागरिकको सहयोग र सूचना चाहिने गर्छ । यसमा ज्ञवालीको सफलतामा आम नागरिकको साथ र सहयोग कस्तो हुन्छ त्यसमा समेत भर पर्ने सुरक्षा विज्ञहरू बताउँछन् ।

'टिमवर्क र कम्बिनेशन'

समग्रमा सबैखाले गैरकानुनी क्रियाकलाप नियन्त्रण र कानुनी कारवाहीको दायरामा ल्याउनु चुनौतीपूर्ण छ । ५० लाखभन्दा बढी नागरिकलाई शान्तिपूर्वक र सुरक्षितसँग बस्नका लागि माहोल सिर्जना गर्नु ठुलो दायित्व हो । काठमाडौँ पहिले जस्तो रातमा हिँड्न नसकिने अवस्था नभए पनि घटना त भइरहेका छन् । राति जाग्ने काठमाडौँका विकृति रोक्दै कानुनी दायरामा ल्याउनुपर्ने ‘च्यालेन्ज’ छ ।

अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानुनको पालनामा गराउने महत्त्वपूर्ण दायित्व देखिन्छ । यो सफलता हासिल गर्न एसएसपी ज्ञवाली मात्रै नभई मातहतका अधिकारीले कत्तिको साथ दिन्छन्, त्यसमा पनि भर पर्ने यसअघि काठमाडौँको नेतृत्व सम्हालेका प्रहरी अधिकारीहरूको अनुभव छ ।

पछिल्लो समयमा काठमाडौँ प्रहरी र अपराध महाशाखाको संयुक्त अपरेसनबाट धेरै काममा प्रहरीलाई सफलता मिलेको छ । काठमाडौँ प्रहरी र अपराध महाशाखाले ठुल–ठुला काममा सफलता हात पारेको छ । अहिले काठमाडौँ प्रहरी प्रमुखमा एसएसपी ज्ञवाली आएसँगै अपराध महाशाखामा पनि उनकै स्प्रिडमा काम गर्न सक्ने पहिचान बनाएका अर्को एसएसपी दीपक थापा आएका छन् । यी दुई अधिकारीको कम्बिनेसन र टिमवर्कले पनि काठमाडौँको अपराध नियन्त्रणमा भर पर्ने देखिन्छ ।

सङ्गठनभित्रको सुधार

यो जनउत्तरदायी युग हो । प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकता छ । प्रहरीको भेषमा अवाञ्छित गतिविधि भएका धेरै उदाहरण छन् । सबैभन्दा बढी प्रहरी अधिकारी कार्यरत काठमाडौँमा ती विकृति निस्तेज पार्दै एसएसपी ज्ञवालीले आफू मातहतका प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा कत्तिको सक्लान्, त्यो समयले बताउला । भनिन्छ- ‘हरेक नागरिक बर्दी विनाको प्रहरी हो, हरेक प्रहरी बर्दीसहितको नागरिक हो ।' अपराध नियन्त्रण र प्रहरीको सफलतामा सबै मिलेर मात्र उत्कृष्ट परिणाम हासिल गर्न सकिने जानकारहरू बताउँछन् ।

कानुन मान्लान् कि आदेश !

‘प्रहरीमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएको छ’ यो ओपन सेक्रेट नै छ । यस्तोमा राजनीतिक नेतृत्वसँगको समन्वय र सहकार्यलाई रणनीतिक रूपमा कसरी अगाडि बढाउन सक्छन् अथवा सक्दैनन् । त्यो उनको कार्यकुशलतामा निर्भर रहन्छ । सुनिन्छ, आफ्ना कर्तव्य निर्वाह गर्ने क्रममा उच्च अधिकारीहरूलाई राजनीतिक दबाब धेरै आउँछन् । यस्तोमा ज्ञवालीले अहिलेसम्म कायम राखेको निष्पक्ष मर्यादित व्यावसायिक छवि कत्तिको कायम गर्न सक्लान् समयलेनै देखाउनेछ ।

प्रहरी नेतृत्व चेन अफ कमान्डमा चल्ने हुँदा राजनीतिक हस्तक्षेप सङ्गठन प्रमुखलाई ज्यादा हुन्छ । सङ्गठन प्रमुखबाटै तल्ला निकायमा निर्देशन दिइन्छ। तर पनि सङ्घीय राजधानी काठमाडौँका प्रहरी प्रमुखको कामको दायरा अरू जिल्लामा भन्दा धेरै र फरक हुन्छ । त्यहाँ काम गर्दा आउने चुनौतीलाई चिर्न सक्नु अहिलेका काठमाडोै प्रहरी प्रमुख ज्ञवालीको चुनौती हो । त्यसका लागि उनको कार्यकुशलता र समन्वयमा धेरै कुरा निर्भर रहन्छन् । 

पुरानै ठाउँ तर नयाँ चुनौती

यसअघि ज्ञवाली महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा रहेर काम गरिसकेकाले समेत उनको लागि काठमाडौँ नयाँ होइन । यसअघि पनि अहिलेकै कार्यालयमा रहेको र सोह्रखुट्टे, बौद्ध तथा विभिन्न वृत्तमा काम गरिसकेकाले उनी काठमाडौँसँग अपरिचित होइनन् । तर अहिले एसएसपी ज्ञवालीले सिङ्गो जिल्लाको नेतृत्व गर्ने अवसर पाएका छन् । काठमाडौँ सङ्घीय राजधानी रहेकोले यहाँ धेरैको चासो रहन्छ । यहाँ भएगरेका गतिविधि राष्ट्रिय चासो र बहसको विषय बन्छ । यसैले यहाँ भएका सफलता र असफलतालाई नै आमनागरिकले सिङ्गो प्रहरीको कार्यसम्पादनसँग मूल्यांकन गर्ने गर्छन् । पछिल्लो समय केही प्रकरणमा प्रहरीले अनुसन्धान गर्न चुकेको र विधिको शासनभन्दा अलग ढङ्गले कामकारबाहीमा उत्रिएका कारण जनविश्वास गुमाएको कतिपयको भनाइ छ । सङ्गठनको छवि उकास्ने अवसर र चुनौती एसएसपी ज्ञवालीलाई छ । 

समय, परिस्थिति र काम गर्ने क्रमसँगै धेरै प्रहरी उच्च अधिकारीहरू विवादमा तानिएका देखिन्छन् । अनुकरणीय कुरा अहिलेसम्म प्रहरी ज्ञवालीका क्षमता, कार्यशैली, चरित्र, प्रवृत्तिबारे प्रश्न उठेका छैन । र जनमत समेत विभाजित छैन । यसलाई निरन्तरता दिनु सक्नु नै उनको सक्षमता हो । लो–प्रोफाइलमा बस्न रुचाउने उनको लागि काठमाडौँ बसाईको एक वर्षले फौजी सङ्गठनमा अपरिहार्य मानिने लडाकु स्वभावको आँट देखाउन सक्लान् त ? एक वर्षपछि मूल्याङ्कन हुने नै छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि