काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले आज गरेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
मूल सडकमात्र नभई भित्री सडकमा समेत ट्राफिक जाम भएपछि यात्रुहरुले सास्ती पाएका छन् ।
गाडी नचल्दा यात्रुहरु हिँडेरै गन्तव्यमा गइरहेका देखिन्छन् । कतिपय गाडी पाउने आशमा यात्रु प्रतिक्षालयमा कुरिरहेका देखिन्छन् ।
यसैबीच, प्रहरीले माइतीघरबाट सर्वोच्च अदालत हुँदै सिंहदरबारतर्फ जाने सडक बन्द गराएको छ ।
नेकपाले आजको प्रदर्शनमा एक लाखभन्दा बढीको संख्यामा कार्यकर्ता उतार्न दावी गरेको छ ।
त्यसका लागि नेकपाले उपत्यकाका तीन जिल्ला र उपत्यका बाहिरका धादिङ, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, चितवनबाट समेत नेता कार्यकर्तालाई काठमाडौँ उतारेको जनाएको छ ।
प्रचण्ड–माधव समूहले आज काठमाडौं र ललितपुरका बिभिन्न नौ स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा विरोधसभा गर्दै छ ।
माइतीघर, चारखाल डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका लगायतका स्थानबाट निस्किने जुलुस रत्नपार्कमा भेला भएर मूल जुलुसको रुपमा परिणत हुने छ ।
सो मूल जुलुस भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्वय प्रचण्ड र माधव कुमार नेपालले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध यसअघि नेकपाले गत पुस १४ गते पनि उपत्यकामा प्रदर्शन गरेको थियो ।