बैशाख २०, २०८१, बिहीबार
               

शुक्रबार कहाँ-कहाँबाट जुलुस निकाल्दैछ नेकपा दाहाल-नेपाल समूहले ?

नेपाल फ्ल्यास
माघ ०८, २०७७

ADVERTISEMENT

नेकपा (दाहाल–नेपाल समूह)ले शुक्रबार प्रतिनिधिसभा विघटनविरुद्धमा काठमाडौंमा गर्ने विरोध सभा गर्दै छ । प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले बनाएको स‌ंघर्ष समितिले विरोध सभाको तयारी पूरा भएको जनाएको छ । 

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्‍चारकर्मीहरूसँग संघर्ष समितिका सहसंयोजक तथा प्रवक्ता योगेश भट्टराईले शुक्रबार गरिने विरोध सभाको तयारी पूरा भएको जानकारी दिए । उनले पार्टीको स्थायी समिति सदस्यसहितका नेताहरूको नेतृत्वमा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्‍वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, वाल्मीकी क्याम्पसलगायतबाट जुलुस निकाल्ने तयारी पूरा भएको उनले बताए । 

उपत्यकाका विभिन्‍न ठाउँबाट निस्किएको जुलुस रत्‍नपार्कमा जम्मा भई मुख्य जुलुसमा समाहित हुने भट्टराईले बताए । मुख्य जुलुस पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको नेतृत्वमा रत्‍नपार्क, सुन्धारा, भद्रकाली, पुतलीसडक हुँदै भृकुटीमण्डपमा गुगेर विरोधसभामा परिणत हुने नेता भट्टराईले जानकारी दिए । 

विरोधसभामा अध्यक्षद्वय दाहाल र नेपाललगायत नेताले सम्बोधन गर्ने उनले बताए । सहसंयोजक भट्टराईले विरोध प्रदर्शन तथा सभा शान्तिपूर्ण हुने बताए । 

नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा सुचारु नहुञ्‍जेलसम्म संघर्षको कार्यक्रम जारी रहने बताए । श्रेष्ठले संघर्षको कार्यक्रमले संवैधानिक अंगलाई संविधानले निर्दिष्ट गरेको भूमिका स्वतन्त्रतापूर्वक निर्वाहका लागि वातावरण निर्माण हुने दाबी गरे । 


कस्तो लाग्यो ?

यो पनि