जेठ ०६, २०८१, आइतबार
               

चुनाव चिह्नबारे न्यायोचित निर्णय हुन्छ : प्रमुख निर्वाचन आयुक्त

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपाको वैधानिकता, चुनाव चिह्न र नामबारे न्यायोचित निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले शुक्रबार आयोगमा बुझाएको पार्टीका नेताहरूको हस्ताक्षरसहितको दस्ताबेज ग्रहण गर्दे आयुक्त थपलियाले संविधान, निर्वाचन सम्बन्धी कानुन र दर्ता गर्दाका विधान एवम् संशोधित विधानलाई आधार बनाएर चाँडै नै विवाद न्यायोचित निर्णय गर्ने बताएका हुन् ।

उनले आयोगमा दस्ताबेज र केन्द्रीय कमिटी सदस्यकाे हस्ताक्षर  प्राप्त भएछि विवाद समाधानका लागि वैधानिक प्रक्रिया सुरु भएकाे पनि बताए ।

उनले यसका लागि आवश्यक परे दलको विवादसम्बन्धी सर्वोच्च अदालतका केही नजिरलाई पनि आधार बनाइने बताए । उनले भने, ‘विवाद निरुपणका प्रक्रिया तत्काल सुरु गरी ऐनले दिएको अधिकारअनुसार आयोगले आफ्नो दायित्व पूरा गर्नेछ ।’ 

सो क्रममा अध्यक्ष प्रचण्डले २९५ जना केन्द्रीय कमिटी सदस्यको हस्ताक्षरसहित अन्य कागजपत्र प्रमुख आयुक्तसमक्ष पेस गरेका थिए । हस्ताक्षरको सूची बुझाउँदै आवश्यक परे ३१५ जनाको भौतिक उपस्थिति गराइने प्रतिबद्धता जनाएका थिए ।

प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसमक्ष ७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकता भएर नेकपा गठन भएको, सोही दिनको केन्द्रीय समितिको संयुक्त अधिवेशनले ४४१ सदस्यीय केन्द्रीय कमिटी बुझाएको पनि अवगत गराएका थिए ।

अर्का अध्यक्ष माधवकुमार नेपालले सूर्य चिह्न निकै मेहनतका साथ पाएको स्मरण गर्दै यसका कसैले आँखा लगाउन नपाउने बताएका थिए ।

उनले आफूहरु को हो भन्नेबारे आयोगलाई चिनाइरहन नपर्ने पनि बताए । अध्यक्ष नेपालले भने, ‘गणतन्त्र ल्याउने, संघीयता ल्याउने र संविधान बनाउने हामीलाई चिनाइरहनु पर्दैन ।’

उनले पार्टीको वैधानिकताका लागि सबै केन्द्रीय सदस्य सशरीर उपस्थित हुने पनि बताए । उनले आवश्यक परे सबै केन्द्रीय सदस्य मास्क खोलेर आउने पनि बताए ।

यसअघि नेकपाका अध्यक्ष दाहाल, अर्का अध्यक्ष दाहाल, नेताहरु झलनाथ खनाल, नारायणकाजी श्रेष्ठसहितको जुलुस माइतीघरबाट सिंहदरबार, सहिदगेट, कान्तिपथ हुँदै निर्वाचन आयोगमा पुगेको थियो । 

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेको विरोधमा नेकपा नेतात्रय एवम् पूर्वप्रधानमन्त्री दाहाल, नेपाल र खनाल आज सडकमा उत्रिएका हुन् ।

यो पनि