बैशाख २२, २०८१, शनिबार
               

सर्लाहीको झडपमा १९ प्रहरी घाइते, नेकपाका कार्यकर्ताले हत्या गरेको दाबीसहित कांग्रेसको प्रदर्शन

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सर्लाही बाहिर बुधबार दिउँसो सुरक्षाकर्मी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा १५ नेपाल  प्रहरी र चारजना सशस्त्र प्रहरी घाइते भएको डिआइजी धीरजप्रताप सिंहले जानकारी दिए ।

कांग्रेसले असोज २२ गते सर्लाहीको रामनगर गाउँपालिका-६ मा कुटपिटबाट मृत्यु भएका ६० वर्षीय महेन्द्र रामको नेकपाको कार्यकर्ताले हत्या गरेको भन्दै दोषीलाई पक्राउ गरी कारबाही गर्न माग राख्दै प्रदर्शन गरेको थियो ।

प्रदेश-२ प्रहरी प्रमुख सिंहले घटनामा संलग्न तीन जनालाई पक्राउ गरिएको तर उनीहरु कुनै राजनीतिक सम्बन्ध नरहेको दाबी गरे ।

‘दलित गाउँका केटाकेटीबीच भएको ढुंगा हानाहानमा ठूला मान्छे पनि मिसिएपछि ढुंगाले लागेर रामको मृत्यु भएको पाइएको छ । हामीले घटनामा संलगन विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिसकेका छौँ’, सिंहले भने ।

यता रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माले रामको हत्या नेकपाका कार्यकर्ताले गरेको दावी गरेका छन् ।

‘महेन्द्र रामलाई पहिल्यैदेखि नेकपाले आफ्नो पार्टीमा आउन भनिरहेको थियो तर उनले कांग्रेस नछाड्ने अडान लिएका थिए । त्यही कारण असोज २२ गते साँझ ८ बजे १२/१५ जना नेकपा कार्यकर्ताले कुटपिट गरि रामको हत्या गरेको देखिन्छ’, बर्माले भने ।

उनले प्रहरीले वास्तविक दोषीलाई जोगाउने काम गरेको दाबी गरे ।

बर्मा नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् । उक्त गाउँपालिकाको ६ नम्बरका वडाध्यक्ष भने नेकपामा हुन् । उनी तत्कालीन माओवादीका स्थानीय नेता हुन् । रामले भने स्थानीय निर्वाचनमा वडा सदस्यमा नेपाली कांग्रेसबाट हारेका थिए ।


कस्तो लाग्यो ?

यो पनि