बैशाख १४, २०८१, शुक्रबार
               

सिडिओ कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द

नेपाल फ्ल्यास
साउन २५, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालय (सिडिओ कार्यालय) मा आज (आइतबार) देखि अत्यावश्यक बाहेकका सेवा बन्द  भएका छन् ।

कोभिड–१९ को संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै प्रशासन कार्यालयले  सेवा बन्द गरेका हुन् । 

विषेश गरी तत्कालिन आवश्यकता नभएका सेवालाई स्थगन गरिएएको छ ।

मुख्यगरी नयाँ नागरिकता वितरण, प्रतिलिपि वितरण, हातहतियार दर्ता र वितरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता तथा नवीकरण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी नवीकरण, नाबालिग परिचयपत्र वितरणलगायत अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ ।

शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्दासम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास र विपद् व्यवस्थापनसम्बन्धी सेवा भने जारी रहने जनाइएको छ ।

पहिलो चरणमा आगामी भदौ ८ गतेसम्म सेवा स्थगन गरिने छ । त्यसपछि फेरि देखिनसक्ने संक्रमितको अवस्थाका आधारमा पुनः अर्को निर्णय हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । उनले भने, ‘आजबाट अत्यावस्यक सेवा मात्र प्रवाह हुनेछ, अत्यावश्यक नभएका सेवा हाललाई स्थगन गरिएको छ ।’

लकडाउनपछि गत असार १ गतेदेखि उपत्यकाका तीनवटै प्रशासन कार्यालयले सबै सेवा नियमित गरेका थिए । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सरोकारवाला निकायका प्रमुखसहित यही साउन २३ मा बसेको संयुक्त बैठकले उक्त निर्णय गरेको थियो । 

उपत्यकामा कोरोना सङ्क्रमण जहाँ देखिन्छ, त्यसठाउँमा सुरक्षा निगरानी बढाउने र आवश्यकतानुसार स्थानीय तहले सिल गरेर संक्रमणको पहिचान गरी उपचार गर्ने गरी आवश्यक व्यवस्थासमेत मिलाइएको छ । 

सरकारी निर्णयअनुसार गत असार १ गतेदेखि आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने, दुई मिटरको दूरी कायम गराउने र साबुनपानीले हात धुने, मास्क लगाउन अनिवार्य गरिएको र त्यसमा अटेर गरेको पाइएमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रजिअ दाहालले बताए ।

यी मापदण्ड पूरा गर्नुपर्ने

अत्यावश्यक कामका लागि कार्यालयमा प्रवेश गर्ने सेवाग्राहीले स्वास्थ्य मापदण्ड अपनाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्ने वा साबुनपानीले राम्ररी हात धुनुपर्ने तथा सामाजिक दूरी कायम गर्नुपर्ने छ । उपत्यकाको केही स्थानमा संक्रमण फैलिएपछि सिल गरिएको छ भने केही ठाउँलाई उच्च निगरानीमा राखिएको छ । 

अहिलेसम उपत्यकामा एक हजारभन्दा बढीमा संक्रमण भइरहेको छ । दैनिक ५० देखि १०० को हाराहारिमा उपत्यकामा कोरोनाका नयाँ विरामी थपिदै आएका छन् ।

यो पनि