बैशाख १४, २०८१, शुक्रबार
               

पार्टी एकता नटुङ्गिँदै नेकपा विभाजन उन्मुख
पहिले रजगज जमाएका आधा दर्जन नेता अझै बेरोजगार

नेपाल फ्ल्यास
साउन २१, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो समय विभाजन उन्मुख देखिएको शक्तिशाली नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा धेरै नेता भूमिकाविहीन हुँदा कमजोर बनेका छन् । शीर्ष तहका केही नेताहरूमा प्रधानमन्त्री बन्ने आकाङ्क्षा देखिँदा दोस्रो तहका धेरै यस्ता नेताहरू छन्, जसको भूमिका पार्टी एकतापछि कमजोर देखिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाउनुपर्ने प्रस्ताव गर्दै गर्दा उनकै प्यानल पूर्व माओवादीका धेरै नेताहरू भूमिका विहीन छन् । यता प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर प्रधानमन्त्रीको आकाङ्क्षी माधवकुमार नेपाल प्यानलकै पूराना प्रभावशाली नेताहरू हाल कमजोर बनेका छन् ।

विगतमा राजनीतिक र सङ्गठनात्मक निर्णयकर्ता रहेर पार्टीभित्र हालीमुहाली गरिरहेका धेरै नेता अहिले भूमिकाविहीन भएपछि कमजोर देखिएका हुन् । पार्टीले ठोस जिम्मेवारी नदिँदा उनीहरू अहिले फुर्सदिला मात्र छैनन्, निर्णायक तहमा कुनै भूमिका नहुँदा 'आउँदा दिनमा उनीहरूको राजनीतिक भविष्यसमेत कता जाला' भन्ने सम्मका विश्लेषण हुन थालेका छन् ।

पार्टी सचिवालय सदस्य र स्थायी समिति सदस्यमै रहे पनि ती सङ्गठन जम्बो रहेकाले त्यहाँ उनीहरूको भूमिका कमजोर देखिएको छ । केही समय अघिसम्म भूमिकाविहीन रहेका केही शीर्ष नेताहरूको व्यवस्थापन भए पनि धेरै मध्यम स्तरका नेताहरू अझै खाली हात बस्नुपरेको छ ।

विगतमा कुनै पदमा नरहेका नेताहरूमा बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र वेदुराम भुसाललाई पछि जिम्मेवारी दिइयो । पूर्व एमालेमा रहँदा तत्कालीन उपाध्यक्ष युवराज ज्ञवाली देखि पार्टीमा राम्राेसँग रजगज गर्दै आएका आधा दर्जन नेता अहिले सङ्गठनको बैठकमा ताली बजाएर निर्णय पारित गराउने भूमिकामा मात्र सीमित छन् ।

यसअघि चुनाव हारेरका नेताहरूमा वामदेव गौतम, नारायणकाजी श्रेष्ठलाई क्रमशः उपाध्यक्ष र  राष्ट्रियसभा सदस्य बनाइएको छ । चुनावताका रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यमा सुनिश्चित गर्न राजीनामा गराइएको वेदुराम भुसाललाई अहिले राष्ट्रियसभामा लगिएको छ । अमृत बोहरा र अमिक शेरचनलाई पछि अनुशासन आयोग बनाएर लगिएको छ ।

तर पहिला पार्टीको प्रभावशाली भूमिकामा रहेका तथा महाधिवेशनमा पदाधिकारी पदमा निर्वाचित अझै आधा दर्जन जती नेताहरूको व्यवस्थापन भएको छैन । ती नेताहरूमा स्थायी समिति सदस्यहरू युवराज ज्ञवाली, रघुजी पन्त र लीलामणि पोखरेल छन् । गणेश शाह, मणि थापालगायतका नेता अहिले बेरोजगार छन् ।

उनीहरू सबै कुनै पनि सदनका सदस्य छैनन् भने पार्टीले पनि ठोस जिम्मेवारी दिएको छैन । तत्कालीन एमालेका निर्वाचित उपाध्यक्ष ज्ञवाली, तत्कालीन माओवादी केन्द्रमा राम्रै भूमिकामा रहेका पोखरेल र मणि थापाको हालत पनि ४ सय ४१ सदस्यीय जम्बो केन्द्रीय समिति सदस्यको अवस्थाजस्तै छ । तत्कालीन एमालेमा साङ्गठनिक काममा राम्रो भूमिका निर्वाह गरेका अमृतकुमार बोहराको जिम्मेवारी ढिलो गरी तोकिएको छ ।

पार्टी एकीकरण नटुंगिदा समस्या, शीर्ष नेताको विवादले अन्योल

हाल नेकपामा अध्यक्ष दुई जना छन् । सचिवालय नौ सदस्यीय छ । स्थायी कमिटीमा ४५ जना छन् । यी सङ्गठनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका शक्तिशाली नेता समेटिएका छन् । पार्टी एकतापछि यो सङ्गठन बने पनि शक्तिशाली नेताले नै यथोचित भूमिका नपाउँदा बेरोजगार र कमजोर बनेको टिप्पणी हुन थालेका छन् । माथिल्लो तहका नेताले जिम्मेवारी नपाएका कारण तल्ला तहका झन्डै तीन लाख नेता–कार्यकर्तासमेत निष्क्रिय छन् ।

स्थायी कमिटीका ४५ जना नेतामध्ये ३६ जना संघ र प्रदेशका सांसद छन् । सांसद रहेकाहरू संघीय सरकार तथा प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री बनेका छन् । केही संसदीय दलका उपनेता र प्रमुख सचेतक एवं प्रधानमन्त्री, मुख्यमन्त्रीका सल्लाहकार छन् । स्थायी कमिटीका ३६ नेतामध्ये संसदबारिह रहेका बाँकी दर्जन नेताहरूको  गतिविधि भने शून्य प्रायः छ ।

पार्टीको निर्णायक तहमा वा सांसदमध्ये कुनै भूमिकामा नहुँदा पहिलेका शक्तिशाली नेता अहिले कमजोर बनेका हुन् । स्थायी कमिटी सदस्यहरूसमेत बेरोजगार बन्दा ४ सय ४१ सदस्यीय केन्द्रीय समिति सदस्यको अवस्था पनि उस्तै छ । 

विधानमा केन्द्रीय सचिवालयले केन्द्रीयस्तरमा स्थायी कमिटीबाट नीतिगत निर्णय गर्ने व्यवस्था छ । स्थायी समिति धेरै सदस्यीय भएकाले ती सङ्गठनका सदस्यको भूमिका कमजोर देखिएको एकतापछि स्थायी समितिमा खुम्चिएका युवराज ज्ञवाली बताउँछन् । ‘हामी कुनै पनि सदनमा छैनौँ र पार्टीले कुनै पनि ठोस जिम्मेवारी दिई नसकेकाले शक्तिहीन देखिएका हौँ,’ उनले भने ।

तर, अहिले पार्टीले पनि कुनै भूमिका नदिएकोमा ती नेताहरू असन्तुष्ट छन् । शीर्ष तहमा  भएको विवादले पार्टी विभाजन उन्मुख बनेको समयमा भूमिका नपाउने नेताहरू अझ रुष्ट छन् ।

एक नेताले भने, ‘पार्टी चलायमान बन्न सकेन, तत्काल पार्टीले यसबारेमा निर्णय लिनुपर्छ, सबैलार्य उचित जिम्मेवारी दिनुपर्ने हो, तर पार्टीकै भविष्य अनिश्चित देखियो ।’

पार्टी एकीकरण अझै नटुङ्एिकाले समस्या देखिएको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य बताउँछिन् । ‘एकीकरण तल्लो तहसम्म नभएकाले, बन्नुपर्ने संरचनना नबनेकाले नेता- कार्यकर्ता बेरोजगार हुनुपरेको छ,’ उनले भनिन्, ‘तल्लो तहमा निराशा मेटाउन चाँडै एकता प्रक्रियालाई टुङ्ग्याउनु पर्दछ। तर उल्टै शीर्ष तहमा विवाद भइरहेको छ ।’


कस्तो लाग्यो ?

यो पनि