बैशाख १४, २०८१, शुक्रबार
               

पलायनको जोखिममा लोकदोहोरी कलाकार
भोलिका दिनमा कस्ले लोकदोहोरी गीत बचाउँछ ?

ADVERTISEMENT

लोक तथा दोहोरी गायिका कुसम परियारले चावहिलस्थित स्वर संम्राट रोधी क्लबमा पाइला नटेकेको चार महिना बढी भएको छ । चैत पहिलो सातासम्म साँझ पर्नेबित्तिकै उनी मौलिक पहिरनमा ठाँटिएर रोधी क्लब पुग्थिन् । माइक समातेर दोहोरी भाका गाउन थाल्थिन् । उनका सहकर्मीहरु उनलाई लयमा साथ दिन्थे । पुरुष कलाकारहरु उनलाई दोहोरीबाटै सवालको जवाफ फकाउँथे । बाध्यबाधकहरु बजागाजा बजाउँथे । 

सोही पेसाबाट कसुमजस्तै थुप्रैको जिविकोपार्जन चलेको थियो । जुन दिन माइक्रोफोन समाउन बन्द भयो त्यसै दिनदेखि उनीहरुको आम्दानी ठप्प भएको छ । विश्वरभर फैलिएको कोरोनाको संक्रमण नेपालसम्म फैलियो । संक्रमण फैलन नदिन रोकथाम तथा नियन्त्रणको लागी भन्दै सरकारले ११ चैत्र देखि लकडाउन गर्‍यो । त्योभन्दा अघि नै चैत्र ६ गते भिडभाड हुने सबै ठाउँ बन्द गर्ने सरकारको निर्णय थियो । त्यही दिनबाट देशभरका दोहोरी साँझ, क्लब तथा रात्रि व्यावसाय ठप्प भए ।

झमक्क साँझ पर्नासाथ काठमाडौ‌ं दरबारमार्ग, ठमेल, सुन्धारा, चाबहिल, गौशाला, नयाँबसपार्कका दोहोरी साँझ रेस्टुराँमा लोकभाका घन्किन थाल्थे । ग्राहक लोकलयमा झुम्थे । उनीहरूको ‘फर्माइस’मा गायक–गायिका स्वर दिन्थे, वाद्यवादक उनीहरूलाई साथ दिन्थे । तर चार महिनाभन्दा बढी भयो, दरबारमार्ग, ठमेल, सुन्धारा, चाबहिल, गौशाला, नयाँ बसपार्कको त्यो रात्रि माहोल ठप्प छ ।  ती क्षेत्रमा लोकभाका घन्किँदैन, अहिले । सुनसान र चकमन्न छ ।

सात वर्षदेखि लोक तथा दोहोरी क्षेत्रमा लागेकी आयुषा राई पनि रोधी क्लबमा दोहोरी गाउँछिन् । लामो सघर्षपछि पछिल्लो समय उनले चाबहिलमा आफैँले दोहोरी खोलेकी छिन् । तर, लकडाउनयता उनी आफैँ कोठामै थुनिएकी छन् । ‘लकडाउनले पूरै बेरोजगार भइयो,  कसरी पेट पाल्ने ?’ आयुषा भन्छिन्, ‘दोहोरी साँझको भाडा तिर्नुपर्ने छ, बन्द छ, आम्दानी छैन, खर्च मात्रै छ ।’ काठमाडौंमा संघर्ष गरिरहेकी आयुया अब दोहोरी साँझ क्षेत्रमा भविष्य अनिश्चित बनेको दुःखेसो गर्छिन् ।

रोधी क्लबको नियमित आम्दानीसँगै तीज लगायतका चाडपर्वको सिजन कलाकारका लागि राम्रो कमाइ हुने बेला हो । तर, कोराना महामारीले गर्दा रोधी घरहरु बन्द छन् । कलाकारका स्वर बन्द छन् । उनीहरुको खल्ती पनि रित्तो छ । लकडाउनयता अधिकांश कलाकार गाउँ फर्किएका छन् भने केही राजधानीमै कोठामा थुनिएका छन् ।

गौशालामा १८ वर्षदेखि निरन्तर दोहोरी साँझ संचालन गर्दै आएका केशरबहादुर बुढाथोकी भन्छन् ‘पहिलो कुरा त लकडाउन खुलेपनि दोहोरी साँझलगायतका मनोरञ्जन स्थल कहिले खुल्ने हो थाहा छैन । त्यसमा रोधी क्लबहरु खुल्ने त झनै अनिश्चित छ, दोहोरी साँझ चलाएको डेढ दशक बढी भयो, यस्तो संकट पहिलोपटक भोग्दै छौँ ।’

दोहोरी साँझमा गाएर कमाएको पैसाले आफू र परिवारको खर्च धान्दै आएका सयौैँ कलाकार तथा मजदुरको कमाइ खाने भाडो भन्द भएकोले सरकारले तत्काल समाधानको पहल गर्नुपर्ने राष्ट्रिय लोकदोहोरी व्यावसाय संघका वरिष्ठ उपाध्यक्ष तथा चावहिल उपसमितिका अध्यक्ष समेत रहेका केशरबहादुर बुढाथोकी बताउँछन् ।

दोहोरी साँझमा गाएर कमाएको पैसाले आफू र परिवारको खर्च धान्दै आएका प्रभुजंग पाण्डे बेरोजगार भएको चार महिना भयो । उनको घर सुदुरपश्चिम हो । लामो लकडाउनमा न त घरमै पुग्न सके  न त राजधानीमै बस्न सके । पाँच बर्षदेखि काठमाडौंका दोहोरी साँझमा गीत गाएर आफू र परिवारको लालनपालन गर्दै आएका उनी अन्यौलमा छन्  । ‘घरमै फर्किएर मेलापात गर्नुपर्ने हो कि राजधानी फर्किएर पहिलेजस्तै गरी दोहोरी गाएर जीवन गुजारा चल्ने हो ? उनी अन्योलमा रहेको सुनाउँछन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अनुसार काठमाडौं उपत्यकामा ७० भन्दा बढी लोक तथा दोहोरी क्लबहरु छन् । सबैभन्दा बढी नयाँ बसपार्कमा गोंगबुमा क्षेत्रमा छन् । जाहाँ करिब ४५ वटा छन् । यस्तै सुन्धारामा १२ वटा, ठमेलमा ७ वटा, चाबहिल, गाैशाला  क्षेत्रमा  ५ वटा वटा दोहोरी क्लब छन् । यसबाहेक कोटेश्वर, जडिबुटी, जोरपाटीलगायत क्षेत्रमा समेत केही दोहोरी क्लबहरु छन् । ती रेस्टुराँमा करिब एक हजार बढी गायक–गायिका र वाद्यवादक आबद्ध थिए । सबै होटल मजदुर गरी झण्डै २ हजार जनाले रोजगारी पाएका थिए । लकडाउनयता सबे बेरोजगार बनेका छन् । उनीहरुको चूलो कसरी कलिरहेको छ, सायद रोजीरोटी खोसिएका उनीहरुलाई नै थाहा होला । 

अहिलेको कोरोना संकटले स्थापित कलाकार नै संकटमा परेको बताउँछन् । राजनीतिक क्षेत्रमा समेत आबद्ध रहेका लोकतथा दोहोरी क्लब व्यवसायी नविन बुढाथोकी । पछिल्लो समय लोकदोहोरी गीत तथा गायमा रुची बढी रहँदा अहिलेको परिस्थस्तिले ठूलो धम्का पुग्ने बुढाथोकी बताउँछन् ।

 प्रतिभावान् कलाकार दोहोरी रेस्टुराँमा आबद्ध रहेका र उनीहरू पलायन हुँदा सिंगो लोकदोहोरीलाई ठूलो क्षति पुग्ने उनको विश्लेषण  छ।
‘लोकदोहोरीमा करिअर खोजिरहेकाहरूको अवस्था झनै दयनीय रहेको छ, अहिले चर्चामा रहेका लोक तथा दोहोरी गायक गायिकाले यिनै दोहोरी साँझबाट सिकेका हुन्, भोलिका लोक तथा दोहोरी कलाकारहरु अहिले यिनै क्लबबाट जन्मिने हुन्,’ बुढाथोकी भन्छन् ‘यसैले यो बन्द हुँदा धेरैले पेसा परिवर्तन गर्न थालिसकेका छन्, भोलिका मौलिक लोक संस्कृति जगाउने कलाकारहरु पलायन हुँदा राष्ट्रलाई समेत ठूलो धक्का पुग्छ ।’

दोहोरी साँझमा गाएर जीविकोपार्जन गर्ने अधिकांश कलाकार लकडाउनलगत्तै गाउँ फिरेका छन् । उनीहरूलाई सहर फर्काउन यहाँ बाँच्ने वातावरण सुनिश्चित हुनुपर्ने व्यवासायीहरुको माग छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि