बैशाख १४, २०८१, शुक्रबार
               

तेजविलासको ‘उच्छलन’ प्रकाशित

नेपाल फ्ल्यास
साउन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । साहित्यकार तेजविलास अधिकारीद्वारा लिखित ‘उच्छलन’ हाइकु संग्रह बजारमा आएको छ । समसामयिक राजनीति, समाज, प्रकृति, राष्ट्रप्रेम तथा सीमान्तकृत समुदायको भावना समेटिएका हाइकु संग्रहमा संग्रहित छन् । 

छोटो तर तार्किक र मननयोग्य तरिकाले मानव, समाज, राजनीति लगायतका समग्र पाटोलाई केलाएका हाइकुले नेपाली समाजको गति र दिशालाई उधिनेको पाइन्छ । साथै समाजको रुप र त्यसको मनोविज्ञानलाई अधिकारीले सटिक रुपमा हाइकुमार्फत बाहिर ल्याएका छन् ।

अधिकारीका हाइकुका बारेमा डा. मधुसूदन गिरी लेख्छन्, ‘यहाँ आफ्ना र आफूहरुका पक्षका आवाजहरु छन् । उन्मत्त दुर्योधन प्रवृत्तिप्रतिका झटाराहरु छन् काली बन्ने घाँटीमा नरमुण्ड माला जिब्रोमा रगत लत्पतिएकी सेतीहरुका यथार्थ छन् ।’ उनले हाइकुले अस्थायी सरकार मात्र होइन स्थायी सरकारसमेत कामचोर, दामचोर र के के चोर, के के चोर भएको अनुभव अधिकारीको रहेको बताए । 

डा. हरि सिलवालले संग्रहमा मानवतावादी विचारको खोजी, शुद्ध समाजवादी विचारको रोजाइ र भए गरेका यथार्थताको समसामयिक सामाजिक भोगाइको मिश्रणत्रयका रुपमा बोध गर्नु उचित हुने तर्क गरेका छन् ।

उनले संग्रहको भूमिकामा लेखेका छन्, ‘हाइकुकारले व्यंग्य प्रहार गरी मानव समाजलाई धुने र स्वच्छ समाजको निर्माणमा साहित्य स्रष्टाको भूमिकालाई सबल बनाउने जिम्मेवारी बोकेका छन् । उनका व्यंग्य विधानभित्र व्यक्ति ,परिवार, समुदाय, राष्ट्र र अन्तराष्ट्रसम्मका विषयले स्थान पाएको छ ।’

राजनीतिक नेतृत्वको स्वच्छाचारी प्रवृत्ति, सत्ता र विलासिताको अपार मोह, मौलाउँदो व्यक्तिवादी चरित्र र नातावाद कृपावादमाथि कार्यकर्ताको चाप्लुसी प्रवृत्तिमाथि रोष प्रकट गरिएको टेकनाथ पाण्डेयले उल्लेख गरेका छन् ।

उनले भूमिकामा लेखेका छन्, ‘अधिकारीका यी प्रतिनिधि हाइकुले नेपाली समाजमा मौलाएको विकृति, विसंगति, राजनीतिक विशृंखलता, प्रशासनिक दुष्चरित्रता, आर्थिक गतिहीनतामाथि प्रहार गरेका छन् । हाइकुमा प्रहार मात्र छैन माया, देश र मातृत्वप्रतिको ममत्व पनि छ ।

समग्रमा अधिकारीका हाइकु राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक, वातावरणीय विषयका विविध आयाममा लेखिएका छन् ।’

समाजभित्रका विभिन्न परिवेशले आफूलाई हाइकु लेख्न अभिप्रेरित गरेको हाइकुकार तेजविलास अधिकारीले बताए । उनले भने, ‘समसामयिक परिदृश्य र त्यसको समाजमा परेको प्रतिछायाँ हाइकुका विषय बनेर आएका छन् । समग्र भन्नुपर्दा संग्रहमा नेपाली समाजको चित्रलाई उधिन्ने कोशिस गरिएको छ ।’


कस्तो लाग्यो ?

यो पनि