बैशाख १४, २०८१, शुक्रबार
               

प्रतिष्ठानले चाल्यो कडा कदम, अर्काको गीत चोर्नेलाई कारबाही

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

बाबुराम सिग्देल
काठमाडौं । दिनप्रतिदिन सक्षम र मौलिक गीत सृजना गर्ने सर्जक तथा कलाकारहरुको गीत संगीत चोरी भएको गुनासो बढ्दै गएपछि त्यसप्रति ध्यानाकर्षण भएर चोरी गर्ने या चोरीमा संलग्न हुने जो कोहीलाई पनि कारबाही गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले कडा कदम अघि बढाएको छ ।

देशका आम कलाकारहरुका मातहतमा रहेको संगठन संस्था प्रतिष्ठानले सांगीतिक क्षेत्रमा हुने गरेको शब्द, संगीत चोरीदेखि विभिन्न विकृती र विसंगतीबारे आफ्नो ध्यानाकर्षण भएको जनाउँदै यसविरुद्ध कानूनी प्रकृया अघि बढाउन प्रतिष्ठानको हकमा ऐन कानून नभएकाले डिल्लीबजारस्थित प्रतिलिपि अधिकार कानून ऐन रजिष्ट्रारको कार्यालयमा समन्वय गरी ध्यानाकर्षण पत्र बुझाएको हो ।

बजारमा विगतदेखि नै हुँदै आएका चोरीदेखि विभिन्न विसंगती गतिविधिबारे आफ्नो तर्फबाट कारबाही गर्न कानून ऐन नभएकाले प्रतिष्ठानको समेत त्यसतर्फ ध्यानाकर्षण भएर पीडितलाई न्याय र पीडकलाई कानूनी कारबाहीको दायरामा ल्याउनका लागि बिहीबार रजिष्ट्रार कार्यालयमा पुगेर उक्त कार्यालयकी प्रमुख विष्णुमाया भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

त्यसक्रममा रजिष्ट्रार कार्यालय प्रमुख भट्टराईले पनि आफ्नो ध्यान त्यसतर्फ खिचिएको र अब आइन्दा यसविरुद्ध पीडित पक्षले रजिष्ट्रार कार्यालय या प्रतिष्ठानको केन्द्रीय कार्यालयमा गइ उजुरी दिएको खण्डमा पीडकलाई कानून बोमजीम कारबाही गरिने बताइन् । उनले भनिन्, ‘पहिलादेखि नै कलाकारीता भित्र यस्ता गतिविधि छन् भन्ने गाइँगुइँ भित्रभित्रै सुनिएको थियो, तर हामिकहाँ आज मात्रै औपचारीक जानकारी भएको छ, पीडितले उजुरी दिएको खण्डमा पीडकले कानूनी उपचार भोग्नै पर्छ ।’

अध्यक्ष बिजीले हस्ताक्षर गरेको उक्त ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उपरोक्त विषयमाः नेपाली मौलिक गीत संगीतको संरक्षण र प्रवर्धनमा स्थापनाकालदेखि समस्त कलाकारहरुलाई एकिकृत गर्दै अगाडि बढिरहेको यस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको वर्तमान अवस्थामा नेपाली गीत संगीतमा देखापरेका विकृतिजन्य सम्प्रेषणहरुमा ध्यानाकर्षण भएको छ ।

नेपाली लोकगीत तथा मौलिक चाडपर्व विशेष गीतहरुमा आएको छाडा प्रवृत्ति, गीतका शब्द, लय चोरीदेखि मूल सर्जकको अनुमतिविना नै गीतको प्रयोग गरी व्यवसायिक रुपमा खुल्लम–खुल्ला बौद्धीक सम्पतीमाथि गरेको निरुत्साहीत दण्डनीय बनाउनका लागि प्रतिष्ठानले नैतिक रुपमा दवाब दिँदै त्यस्ता गैह्र जिम्मेवार कार्य नगर्न–नगराउँनका लागि बारम्बार ताकेता गर्दासमेत अटेर गर्नेहरुलाई यस प्रतिलिपि अधिकार नियमावली अनुसार संस्थागत सहकार्यमा एकेबद्धता जनाई नेपाली मौलिक संस्कृतिमाथि भएको लुछाचुडी, चोरी–चाकरी र अश्लिलतालाई नियन्त्रणमा ल्याउन राज्यको तर्फबाट गरिने पहलकदमीका लागि रजिष्ट्रार ज्युको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

अध्यक्ष रमेश बिजीले अब आइन्दा यस्ता गतिविधि तथा नकारात्मक कृयाकलाव गरेर कलाकारका नाममा सक्षम कलाकारहरुका गरी खाने पेशामा बाधा पुर्याउनेलाई कानूनी दायरामा ल्याउने बताए । रजिष्ट्रार कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने क्रममा अध्यक्ष रमेश बिजीसँगै प्रतिष्ठानकै पूर्व अध्यक्ष दुर्गा रायमाझी, चन्द्र शर्मा र केन्द्रीय सदस्य पिएन सापकोटा र शिव हमाल लगायतको उपस्थिती रहेको थियो ।

धेरै वर्ष अघिदेखिबाट नै विभिन्न कलाकारले आफूले सृजना गरेका गीत चोरी भयो भन्दै सामाजिक सञ्जाल लगायत विभिन्न स्थानमा गुनासो गरिरहेका थिए । तर, यसभन्दा अगाडि प्रतिष्ठानले यो कडा कदम चालेको थिएन । अब भने कलाकारीता क्षेत्रमा छुट्टै कानूनी प्रकृया ल्याएर सबै कलाकारका हक–अधिकारलाई विशेष ध्यान दिइने अध्यक्ष बिजीको भनाइ छ ।

‘अबका दिनमा कुनै पनि कलाकारले सृजना गरेर बजारमा ल्याइसकेका गीत संगीतलाई फेरि अरुले पनि त्यसैको हुबहु तथा मिल्दोजुल्दो गरेको पाइएको खण्डमा प्रतिष्ठानको केन्द्रीय कार्यालय अथवा डिल्लीबजार रजिष्ट्रार कार्यालयमा गइ पीडित कलाकारले उजुरी दिएमा कानून अनुसार करबाही गरिनेछ’, उनले भने । 
 


कस्तो लाग्यो ?

यो पनि