संसारकै सबैभन्दा ठूलो ज्यानमाराको रुपमा देखापरेको नोबेल कोरोनाभाइरस विश्व वैज्ञानिक जगत्का लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । सारा संसारलाई आतंकित बनाउँदै आफ्नो महाव्याधिको चपेटामा यसले लपेटेको चार महिना भइसकेको छ तर पनि यसबारेमा सम्पूर्ण रुपमा वैज्ञानिकहरूले थाहा पाइसकेका छैनन् ।
यस भाइरसका बारेमा थाहा पाउन र यसका विरुद्धमा खोप एवं औषधीहरू निर्माण गर्नका लागि संसारभरिकै वैज्ञानिकहरू गहन अध्ययन अनुसन्धानमा जुटेका छन् ।
यसैक्रममा चीनका वैज्ञानिकहरूले यस भाइरसका बारेमा एउटा गम्भीर तथ्य पत्ता लगाएका छन् । यो भाइरस अत्यन्तै तीब्र गतिमा आफ्नो रुप बदल्ने गरेको छ । अहिलेसम्म यसले कम्तिमा ३० वटा भिन्नाभिन्नै आनुवंशिक रुप धारण गरिसकेको छ ।
उक्त अध्ययनले देखाएअनुसार सो भाइरसका भिन्न भिन्न प्रजातिले अत्यन्तै भिन्न संख्यामा भाइरल लोडको मात्रा पैदा गरिदिने गरेको छ, जसले गर्दा यो भाइरसलाई झनै खतरनाक बनाइदिएको छ ।
सो अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरूले नोबेल कोरोनाभाइरसको एउटा आक्रामक रुपले त्यसको सबैभन्दा लुते रुपले भन्दा २ सय ७० गुना बढी भाइरसको लोड पैदा गराइदिने गरेको पनि पाएका थिए । यसको अर्थ के हो भने यसको सबैभन्दा कमजोर रुपको तुलनामा त्यो रुपले संक्रमित गरेको व्यक्तिमा २ सय ७० गुना बेसी भाइरस पैदा हुने गर्छ । यसको अर्थ नोबेल कोरोनाभाइरसको यो रुपले अति तीब्र रुपमा र ठूलो संख्यामा संक्रमण गर्ने गर्छ, यसको कारण लाग्ने कोभिड–१९ रोगको गम्भीरता बढी हुने गर्छ ।
फलतः यसले पैदा गराउने संक्रमण वा महाव्याधि तथा त्यसको फैलिने गतिका विरुद्ध लड्न झनै कठिन बन्ने गर्छ । सम्भवतः केही स्थानमा कोरोनाको संक्रमण अत्यन्तै खराब हुनुको कारण पनि सिद्धान्ततः यही नै हो ।
‘सार्स–कोभ–२ ले आफ्नो रोग लगाउने शक्तिलाई आधारभूत रुपमा परिवर्तन गर्ने गरी रुप बदल्ने क्षमता हासिल गरेको छ,’ आफ्नो उक्त अध्ययन रिपोर्टमा चीनको हाङजोउस्थिति जेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ता तथा चीनका अत्यन्तै उच्च सम्मानित महामारीविज्ञ लि लानजुआनले लेखेका छन् ।
‘सार्स–कोभ–२ ले आफ्नो रोग लगाउने शक्तिलाई आधारभूत रुपमा परिवर्तन गर्ने गरी रुप बदल्ने क्षमता हासिल गरेको छ,’ आफ्नो उक्त अध्ययन रिपोर्टमा चीनको हाङजोउस्थिति जेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ता तथा चीनका अत्यन्तै उच्च सम्मानित महामारीविज्ञ लि लानजुआनले लेखेका छन् ।
उनको टिमले गरेको सो अध्ययन रिपोर्ट एक अन्तर्राष्ट्रिय जर्नलको प्रिन्ट अनलाइनमा छापिएको छ । उक्त अध्ययन रिपोर्टको गहन विश्लेषण गरेर त्यसको एकेडेमिक जर्नलमा छापिन बाँकी नै छ ।
उक्त अनुसन्धानको क्रममा संकलन गरिएका नोबेल कोरोनाभाइरसका भिन्नभिन्न रुपहरुलाई अलग गरेर प्रयोगशालाको वातावरणमा आश्रित कोषलाई कति चाँडो र प्रभावकारी ढंगले आश्रित कोष (होस्ट सेल)हरुलाई संक्रमित गर्न र मार्न सक्छ भन्ने ‘अल्ट्रा डीप सिक्वेन्सिङ’ विधिबाट विश्लेषण गरेका थिए ।
त्यसक्रममा उनीहरूले नोबेल कोरोनाभाइरसका ३० भिन्न भिन्न रुपहरु फेला पारेका थिए । तीमध्ये १९ वटा त यसअघि फेला नपरेका नयाँ खालका थिए । तीमध्ये पछि ६ वटामा भाइरसको स्पाइक प्रोटिनमा नै परिवर्तन आएको पाइएको थियो । स्पाइक प्रोटिन भनेको भाइरसको त्यस्तो भाग हो, जसको मद्दतबाट त्यो आश्रित कोषभित्र प्रवेश गर्ने गर्छ ।