नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन् । बुधबार आयोजित ‘एकवर्षे कार्यकालको समीक्षा’मा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिए ।
‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ गत कात्तिक ४ देखि ६ गतेसम्म अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन सम्पन्न भएको थियो । गत असोज १ गते राष्ट्रिय नवप्रवर्तन ढाँचा, प्राज्ञ– प्रतिष्ठानको सहयोगी हात सर्वसाधारणसम्म पुर्याउन नागरिकसँग नास्ट, देश र विदेशमा रहेका प्रतिभाशाली वैज्ञानिकको ज्ञान तथा सीप उपभोग गर्न तथा वैज्ञानिक परिचय प्रकाशनको तयारी गरिएको कार्यक्रममा जानकारी दिइयो ।
यसैगरी विदेशमा रहेका नेपाली वैज्ञानिकलाई स्वदेशमा भित्र्याउन प्राथमिता दिइएको र विज्ञान र प्रविधिका क्षेत्रका विषयवस्तुमा छलफल गर्न महिनाको एकपटक वार्ताको थालनी तथा सातै प्रदेशमा एक÷एक प्राज्ञ–प्रतिष्ठानका विषयगत अनुसन्धान केन्द्र खोलिने तयारी गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा नास्टले सिटी नेट, च्याउ उत्पादन, भू–क्षय रोकथाम, घाँस उत्पादन र वातावरणीय सुधार गरी सामाजिक आर्थिक रुपान्तरणमा उपयोगी देखिएको जुनकावा प्रविधि हस्तान्तरण गर्न सम्बन्धित निकायसँग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरेको जानकारी दिइयो ।
नास्टका अतिरिक्त विभिन्न प्रयोगशालाबाट दिँदै आइरहेको वैज्ञानिक परीक्षण सेवालाई एउटै छातामुनि ल्याउने उद्देश्यले नास्ट विश्लेषण सेवा केन्द्र, संस्थाको गतिविधि चुस्तदुरुस्त बनाउन मोबाइल एप्स र नास्टलाई योजनाबद्ध विकास र व्यवस्थित पार्न गुरुयोजना अघि बढाइएको नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले जानकारी दिए ।
उनले भने, “ महिला वैज्ञानिक फोरम, विगतमा नास्टले नसमेटेका चार कुलपति राष्ट्रिय नवप्रवर्तन, महिला वैज्ञानिक, उत्कृष्ट विज्ञान शिक्षक र उत्कृष्ट विद्यार्थी पुरस्कारको स्थापना गरी वितरणको शुरुआत पनि यसै वर्षदेखि गरिएको छ ।”
‘नेपाल जर्नल अफ साइन्स एण्ड टेक्नोलोजी’को आगामी दुई महिनाभित्र नयाँ प्रकाशन तयारी भएको कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा नास्टको प्रयोगशालामा कार्यरत कर्मचारीलाई जोखिमभत्ता वितरण गर्न बजेट व्यवस्था गरिएको जानकारी दिइयो ।