जेठ ०९, २०८१, बुधबार
               

पारसको सम्मानमा ७७ नम्बरको जर्सी अरू खेलाडीलाई नदिने

नेपाल फ्ल्यास
साउन २४, २०७८

ADVERTISEMENT

नेपाली क्रिकेटमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्व कप्तान पारस खड्काले लगाउने ७७ नम्बरको जर्सीलाई नेपाल क्रिकेट संघ क्यानले अर्को खेलाडीमा प्रयोग नगर्ने भएको छ । 

अन्तर्राष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएका पारसले पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउँदै आएको ७७ नम्बरको जर्सीलाई रिटायर्ड गर्ने भएको हो । 

पारसले मंगलबार बिहान आश्चर्यजनक रूपमा खेलाडी जीवनलाई विश्राम दिने निर्णय गरेका थिए । १८ वर्षको करियरमा उनी नेपालका लागि सबैभन्दा सफल कप्तान रहेका थिए । 

सन् २००२ मा उमेर समूहबाट क्रिकेट करियर सुरु गरेका पारसले सन् २००४ मा सिनियर टिममा अन्तर महादेशीय क्रिकेट प्रतियोगितामा मलेसियाविरुद्धको खेलमा डेब्यु गरेका थिए । 

सन् २००९ मा विनोद दासको स्थानमा पारसले नेपाली टिमको कप्तानी सम्हालेका थिए । त्यसपछि १० वर्ष नेपाली टिमको कप्तानी गरेका पारसले दुई वर्षअघि कप्तानी छोडेका थिए । 

उनको कप्तानी समयमा नेपाली क्रिकेटले अभूतपूर्व सफलता हासिल गरेको थियो । सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत थिए ।

आफूले जीवनमा देखेको मुख्य सपना नेपाली क्रिकेटको उन्नति भएको र यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता पर्ने भन्दै उनले इमानदारीताका साथ काम गर्ने हो भने नेपाली क्रिकेट धेरै माथि पुग्ने उल्लेख गरेका छन् । 

‘क्रिकेटरको रूपमा मैले आफ्नो मन,वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली  क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ,अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै बामे सर्दै छन्, मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने छौँ भन्ने विश्वास लिएको छु’  पूर्व कप्तान पारसले फेसबुकमा लेखेका छन् ।

पारस खड्का नेपाली क्रिकेटको एक बलियो पिल्लरका रूपमा रहेका थिए । उनी नेपालका लागि एकदिवसीय तथा टी- २० दुवै फर्म्याटमा शतक प्रहार गर्ने पहिलो क्रिकेटरका रूपमा रहेका छन् ।

युएई र सिंगापुरविरुद्ध पारस खड्काले २०१९ मा शतक बनाएका थिए भने सन् २००८ देखि कप्तानको भूमिकामा रहेका पारसले सोही वर्ष नेपाली क्रिकेटको कप्तानको जिम्मेवारी छाड्दै ज्ञानेन्द्र मल्ललाई जिम्मेवारी सुम्पिएका थिए । 
अलराउण्डर पारस खड्का नेपाली क्रिकेटको सर्वाधिक सफल कप्तान हुन् ।

उनको कप्तानीमा नेपालले क्रिकेट इतिहासमै पहिलोपटक २०१४ को टी -२० विश्वकप खेल्ने सुनौलो मौका पाएको थियो । नेपालले उनको कप्तानीमा २०१८ मा पहिलोपटक एकदिवसीय मान्यतासमेत पाएको थियो । 

नेपाली भूमिमा गत फागुनमा सम्पन्न नेदरल्याण्ड्स, मलेसिया र नेपाल सम्मिलित त्रिदेशीय प्रतियोगिता नखेलेका पारसले घरेलु क्रिकेटमा भने आफ्नो भरपुर साथ र सहयोग रहने उल्लेख गरेका छन् ।

नेपाली क्रिकेटमा दुई दशकदेखि अभिभावकको रूपमा रहेका पारसको नेपाली क्रिकेटप्रतिको योगदान र लगाव सम्मानयोग्य रहेको छ ।

यो पनि