जेठ ०२, २०८१, बुधबार
               

अन्योलमा नेपाली फुटबल, मैत्रीपूर्ण खेलको तयारीमा समस्या

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसका कारण करिब सात महिनापछि नेपाली फुटबल टिमले पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको तयारीमा रहेको छ ।

तर लामो समयपछि मैदानमा खेलाडी प्रशिक्षणका लागि फर्कँदा सबैभन्दा ठुलो चुनौती प्रशिक्षकलाई भएको छ । किनकि लामो समय मैदानबाहिर रहेका खेलाडीको फिटनेसको स्तर निकै तल झरिसकेको छ भने खेलाडीको मनमा कोरोनाका त्रास बाँकी रहेकै छ । 

बंगलादेशविरुद्धको दुई वटा मैत्रीपूर्ण खेलको तयारीको जिम्मा पाएका प्रशिक्षक बालगोपाल महर्जनका लागि यतिबेला खेलाडीको फिटनेस र खेलाडीलाई लयमा राख्नका लागि निकै ठुलो चुनौती बढेको छ । 

त्यसमा पनि एकपछि अर्को गरी खेलाडी कोरोना संक्रमित हुनुले झन् चुनौती थपेको छ । अहिलेसम्म प्रशिक्षणमा रहेका सात जना खेलाडीमा कोरोना देखिइसकिएको छ । पहिलो चरणमा चार जना खेलाडीमा प्रशिक्षण सुरु हुनु अगाडि नै देखिएको थियो । त्यसपछि पहिलो दिनको प्रशिक्षणपछि थप एक जनालाई देखियो भने दोस्रो चरणको परीक्षणमा थप दुई जनालाई कोरोना पोजेटिभ देखियो । 

पछिल्लो पटक देखिएका दुई जनाका कारण यतिबेला टिमका अरू खेलाडीलाई पनि मानसिक दबाब बढेको छ । किनकि करिब चार दिन नियमितसँग प्रशिक्षण गरेपछि एन्फाले खेलाडीको परीक्षण गरेको थियो । तर त्यसमा दुई जनामा पोजेटिभ देखिएपछि खेलाडीमा मात्र होइन, प्रशिक्षकलाई पनि दबाब बढेको हो ।

अब ती खेलाडीको कन्ट्याक्टमा कति जना परे त्यो केही भनिएको छैन । यस्तैमा टिमका महत्त्वपूर्ण खेलाडी रोहित चन्द पनि घाइते भएपछि कोरोनासँगै चोटले पनि नेपाली टिमलाई चुनौती दिएको छ ।

३४ खेलाडीलाई प्रशिक्षणमा बोलाएकोमा आठ जना टिमबाट बाहिर भइसकेका छन् । लामो समयपछि नेपाली फुटबलले खेल्न लागेको मैत्रीपूर्ण खेलको मौका खेर फालौँ, अर्को खेलका लागि समय मिल्न कठिन छ । खेलौँ कठिनाइ उतिकै बढेको छ । 

यो प्रशिक्षण सुरु गराउने योजनाका लागि भएको पहिलो चरणको छलफलमा खेलाडीले नै त्यति चासो नदेखाएको भनिएको थियो । एन्फाले दसैँ अगाडि नै प्रशिक्षण सुरु गर्ने भनेर टिमका सिनियर चार खेलाडीसँग छलफल गरेको थियो । तर त्यो बेला खेलाडीले दसैँ मनाएर मात्र प्रशिक्षण गर्न सुझाव दिएका थिए । त्यसमा पनि कोरोनाको कहरले खेलाडी केही आत्तिएका जस्ता पनि थिए । 

जसोतसो प्रशिक्षण त सुरु भयो, तर खेलाडीको स्वास्थ्य भने जोखिममा देखिएको छ । एन्फाले अहिले आएको मौकालाई खेर जान नदिने तरिकाले काम गरिरहेको छ । यता एकपछि अर्को गरी खेलाडीमा कोरोना देखिँदा जुन लक्ष्यका साथ तयारी सुरु भएको थियो, त्यसमा धक्का पुग्न सक्ने देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि