बैशाख २२, २०८१, शनिबार
               

आज जनैपूर्णिमा र गाईजात्रा
तराई क्षेत्रमा राखी बाँधिदै

नेपाल फ्ल्यास
भदौ १४, २०८०

ADVERTISEMENT

काठमाडौं । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । तिथिको घटबढका कारण  यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । 

आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने गर्छन् । आजकै दिन तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान पनि शास्त्रमा उल्लेख गरिएको छ ।

बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोक विनायकलगायत बाग्मती नदीको किनार र देशभरका मठ मन्दिरमा रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न भक्तजनको  भिड लागेको छ । 

आज क्वाँटी खाने चलन पनि छ । गेडागुडी  भिजाएर टुसा उम्रेपछि पकाएर खाइने क्वाँटीले शरीरमा शक्ति मिल्ने डाक्टरले बताउँदै आएका छन् । आजै प्रतिपदा तिथि लाग्ने भएकाले गाईजात्रा पर्व पनि मनाइने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक ज्योतिषी पण्डित सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजको दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने प्रचलन रहिआएको छ । आजै, नेपालको तराई क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक विश्वास रहेको छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूँड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा श्रावण शुक्ल पूर्णिमाका दिन बिहानैदेखि मेला लाग्ने गर्छ ।


कस्तो लाग्यो ?

यो पनि