बैशाख २२, २०८१, शनिबार
               

के निजी आर्जनको सम्पत्ति अंशवन्डा गर्नुपर्छ?

नेपाल फ्ल्यास
असार ३०, २०८०

ADVERTISEMENT

हामीले कानूनी समस्या र समाधानको उपायबारे जानकारीमूलक सामग्री दिन सुरु गरेका छौँ । यसमा सोधिएका प्रश्नको जवाफ यथासम्भव छिटो दिन प्रयास गरिनेछ ।

प्रश्न: हामी तीन दाजुभाइ र बुबासमेत अंशबन्डा नगरी एकाघरमा बस्दै आएका छौँ । । मैले विदेश गएर कमाएर केही सम्पत्ति जोडेको थिएँ । यसबीचमा मेरो दाजु-भाउजूको सम्बन्ध विच्छेद भयो । अहिले सम्बन्ध विच्छेद भइसकेकी भाउजूले मैले विदेश गएर कमाएको सम्पत्ति पनि अंशबन्डा गर्नुपर्छ भनेर अंश दपोटको मुद्दा हालेकी छन् । के मैले विदेश गएर दुःख गरेर कमाएको सम्पत्ति पनि अंशबन्डा गर्नुपर्छ ? - सहदेव पराजुली, दमक, झापा

जवाफ: तपाईँले भनेकै अवस्था हो भने तपाईँको निजी आर्जनको सम्पत्ति अंशबन्डा गर्नु पर्दैन । नेपालको प्रचलित कानूनले स्वआर्जनको सम्पत्ति अंशबन्डा हुँदैन । आफ्ना सन्तानका हकमा बाबुआमाको आर्जन चाहिँ स्वआर्जन मानिँदैन । आफ्ना छोराछोरीहरूबीच त्यो सम्पत्ति भने बन्डा लाग्दछ । तर एउटा कुनै व्यक्तिले गरेको स्वआर्जन दाजुभाइ वा दिदीबहिनीलाई अंशबन्डा गर्नुपर्ने प्रावधान कानूनमा छैन । तपाईँको त्यो स्वआर्जन तपाईँकै छोराछोरीको हकमा भने भोलिका दिनमा अंशबन्डा गर्नुपर्ने हुन्छ । यहाँ तपाईँको सम्बन्ध विच्छेद भएकी भाउजूले पाउने अंश तपाईँको दाजुको भागमा पर्ने सम्पत्तिको आधारमा निर्धारण हुने हुन्छ । तपाईँको निजी आर्जनमा तपाईँको दाजुको हक लाग्दैन । दाजुको हक नलाग्ने भएपछि भाउजु वा सम्बन्ध विच्छेद भइसकेकी भाउजुको हक लाग्ने प्रश्न नै आउँदैन ।

तर निजी आर्जन हो कि होइन भनेर अदालतमा तपाईँले प्रमाणित गराउन सक्नु पर्छ । तपाईँको सम्पत्ति वैदेशिक रोजगारीमा हुँदाको आर्जन नै हो भन्ने आधार प्रमाणहरू तपाईँले जुटाउन सक्नुपर्छ । तपाईँको देखिएको सम्पत्ति तपाईँको विदेशमा भएको आर्जन वा स्वदेशमा त्यसबाट बढेबढाएको भन्दा अस्वाभाविक रूपमा बढी देखिएमा अदालतले त्यो सम्पत्ति सगोलको ठानेर तपाईँको विपक्षमा फैसला हुन सक्दछ । त्यसैले विदेशबाट पैसा पठाएको र त्यो सम्पत्ति जोड्दाका आवश्यक कागजात र अन्य प्रमाणहरू तपाईँले जुटाउन सक्नु भएमा त्यो तपाईँको स्वआर्जन ठहरिएर त्यसमा तपाईँको भाउजूको भाग लाग्ने छैन ।

यदि तपाईँको सम्पत्ति सगोलको ठहरिने अवस्था बनेमा तपाईँले सम्पत्ति लुकाएको अर्थात् अंश दपोट गरेको मानिने छ । यस्तो अवस्था आएमा अदालतले तपाईँले लुकाएको सम्पत्तिमा तपाईँको हकसमेत खोसिदिन सक्नेछ । 

प्रश्नका लागि: [email protected]

यो पनि