बैशाख १५, २०८१, शनिबार
               

जनजाति कल्याण आश्रमको आमाको माया छात्रबासले मनायो वार्षिकोत्सव

नेपाल फ्ल्यास
चैत १८, २०७९

ADVERTISEMENT

गरिब तथा पिछडिएका जनजाति विद्यार्थीहरूलाई शिक्षाको ज्योति पुर्‍याउने उद्देश्यले जनजाति जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास, बागमती प्रदेशले १३औँ वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवमा सयौँ जनजाति विद्यार्थीका लागि सहयोगी हातहरूले शिक्षामा सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।

काठमाडौंमा भएको वार्षिकोत्सव समारोहका आकर्षण प्रख्यात अभिनेता, पटकथा लेखक एवं निर्देशक डा. चन्द्रप्रकाश द्विवेदी रहेका थिए । चाणक्य टेलिशृङ्खलामा आचार्य विष्णुगुप्त 'चाणक्य'कै मुख्य भूमिका निर्वाह गरेका डा. द्विवेदीले कल्याण आश्रमको प्रकल्पहरूबाट जनजाति समाजको परिचय र उनीहरूको स्वधर्म-संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुगिरहेको उल्लेख गरे । 

विश्वभरिका सनातन वैदिक धर्मावलम्बीका लागि नेपाल आफैँमा एउटा तीर्थक्षेत्र रहेको उल्लेख गर्दै उनले आफ्नो मौलिक सांस्कृतिक गरिमा बचाइराखेकोमा सम्पूर्ण नेपालीजनप्रति आभार व्यक्त गरे ।

शान्तिधाम नेपालका पीठाधीश स्वामी चतुर्भुजाचर्य चूडामणि महाराजले सेवाको माध्यमबाट समाजमा सकारात्मक प्रभाव पार्दै आएकोमा कल्याण आश्रमको कार्यको प्रशंसा गरे । मानव शरीर सेवाकै निम्ति प्राप्त भएको र वञ्चित-पीड़ितको सेवा पनि भगवान् नारायणकै सेवा रहेको र यही शिक्षा हाम्रा पावन सद्ग्रन्थले दिइरहेको उनले उल्लेख गरेका थिए ।

भोजन, आवास र शिक्षासँगै योग्य, संस्कारवान् र चरित्रवान नागरिक निर्माणमा पनि ध्यान दिएको भन्दै हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-प्रचारक रेवित कुमारले कल्याण आश्रमको सराहना गरे । सबलले निर्बलको, सक्षमले अक्षमको चिन्ता गर्नुपर्ने भन्दै उनले समग्र समाजलाई कल्याण आश्रमद्वारा सञ्चालन गरिएका प्रकल्पहरूसित उदार मनका साथ जुड्न आह्वान गरेका थिए ।

बौद्ध दर्शन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपू छेम्बे शेर्पा 'थुप्तेन जिग्दोल'ले देशभरि सञ्चालन भइरहेको जनजाति कल्याण आश्रम नेपालका प्रकल्पहरूमा आफू प्रत्यक्ष सहभागी हुनपाएको उल्लेख गरे । ज्ञानसँगै संस्कार पनि प्रदान गर्दै आएकोमा यसले बालबालिकाको हृदयको विकासमा पनि जोड दिएको उनको ठम्याइ थियो । सामाजिक उत्तरदायित्व वहन गर्दै सेवाकार्यमा समर्पित हुने मारवाडी समुदायप्रति उनले आभार व्यक्त गरेका थिए । यो काम समाजका लागि उदाहरणीय बनेको उनले उल्लेख गरे । वर्तमान समयमा पश्चिमबाट आएका पन्थहरूले नेपाली सभ्यता र बौद्ध, किरात एवं हिन्दु जस्ता पूर्वीय चिन्तनलाई ओझेलमा पारिरहेको अवस्थामा हामी सबैको सहकार्यमा जनजनमा स्वधर्मको चेतना विस्तार गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नेपाली सेनाका सेवानिवृत्त मेजर जेनेरल नरबहादुर कँडेलले राखेका थिए । जनजाति कल्याण आश्रमको स्थापनादेखि वर्तमानसम्मको गतिविधिसहित संक्षिप्त परिचय महासचिव प्रेम थुलुङले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पूर्व आईजीपी तथा पूर्व कानुन मन्त्री ध्रुवबहादुर प्रधान, राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई 'व्याकुल माइला', पूर्व एआईजी तथा हिन्दु स्वयंसेवक संघ नेपालका राष्ट्रिय सह-संघचालक कल्याणकुमार तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाली सेनाका रथी सीताराम खड्का प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । उनकै बाहुलीबाट जनजाति कल्याण आश्रम नेपालको वेबसाइटको लोकार्पण समेत गरियो । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनको प्राविधिक सहयोगमा निर्माण भएको वेबसाइटमा संगठनको परिचय र गतिविधि समेटिएको छ ।

वरिष्ठ व्यवसायी एवं समाजसेवी प्रमोदकुमार अग्रवालको सभापतित्वमा आयोजित समारोहमा देशका विभिन्न स्थानमा सञ्चालित छात्रावासमा रहेर अध्ययन गरिरहेका बालबालिकाले नृत्य, योग, गीत आदि सांस्कृतिक प्रस्तुतिहरू पेस गरेका थिए ।

यो पनि