बैशाख १४, २०८१, शुक्रबार
               

भारतीय दूतावासद्वारा मदन भण्डारी स्मृति कलेज भवन हस्तान्तरण

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौँस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवन आज सोमबार कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । 

हस्तान्तरण समारोहमा पूर्वपरराष्ट्र मन्त्री एवम् कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी र काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकीको उपस्थिति थियो । 

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत कलेज भवन निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा २ करोड ८६ लाख रुपैयाँमा भएको भारतीय दूतावासले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मदन भण्डारी कलेजमा करिब १५ सय विद्यार्थी अध्ययनरत छन् । 

सन् २००३ यता भारतले नेपालमा ५ सय ३५ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा ४ सय ७८ वटा परियोजना सम्पन्न भइसकेको भारतीय दूतावासले जनाएको छ । 

तीमध्ये काठमाडौं जिल्लाका ४० वटा परियोजना समेत गरी बाग्मती प्रदेशमा १०४ वटा परियोजना रहेका छन् । 

भारत सरकारले मदन भण्डारी कलेजलाई बस पनि यसअघि दिएको थियो । 

भारत सरकारले हालसम्म काठमाडौँका विभिन्न अस्पताल, स्वास्थ्य चौकी एवम् शैक्षिक संस्थालाई ६८ वटा एम्बुलेन्स र ४६ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

यो पनि