बैशाख १३, २०८१, बिहीबार
               

नेपालमा पुरुषभन्दा महिला धेरै

नेपाल फ्ल्यास
माघ १२, २०७८

ADVERTISEMENT

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना पुगेको छ । पुरुषको तुलनामा महिला ६ लाख बढी देखिएको छ । १० वर्षमा जनसङ्ख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ ।

गत मंसिरमा भएको १२औँ राष्ट्रिय जनगणना २०७८को प्रारम्भिक विवरण आज सार्वजनिक गरिएको हो । पछिल्लो १० वर्षमा २७ लाख जनसंख्या वृद्धि भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

१२औँ राष्ट्रिय जनगणनाको प्रारम्भिक विवरणअनुसार जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार ४८० कायम भएको छ । जुन अघिल्लो जनगणनाको तुलनामा २७ लाख ९७ हजार ९७६ जनसङ्ख्या वृद्धि भएको हो । राष्ट्रिय जनगणना २०६८ मा नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ थियो । 

१२औँ जनगणनाको प्रारम्भिक विवरणअनुसार पुरुष एक करोड ४२ लाख ९१ हजार ३११ र महिला एक करोड ४९ लाख एक हजार १६९ जना रहेका छन् ।   

काठमाडौं जिल्लामा सबैभन्दा धेरै जनसंख्या रहेको छ । काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५३२ रहेको छ ।

त्यस्तै सबैभन्दा कम जनसंख्या रहेको मनाङ जिल्लाको जनसंख्या ५ हजार ६४५ रहेको छ । धेरै जनसंख्या भएका जिल्लाहरुमा मोरङ, रुपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं रहेका छन् । कम जनसंख्या भएका जिल्लाहरूमा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन् ।

सबैभन्दा धेरै जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र विरगञ्ज नगरपालिका परेका छन् भने सबैभन्दा कम जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठुलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका, लालिगुराँस नगरपालिका र जिरी नगरपालिका रहेको तथ्यांक विभागले जनाएको छ ।

धेरै जनसंख्या भएको काठमाडौं नगरपालिकाको जनसंख्या ८ लाख ६५ हजार ९०६ रहेको छ भने कम जनसंख्या रहेको ठुलिभेरी नगरपालिकामा १० हजार १८७ रहेको छ । २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ वटा रहेको छ भने १ लाखभन्दा बढी जनसंख्या हुने नगरपालिकाको संख्या ३९ वटा रहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि