बैशाख ०८, २०८१, शनिबार
               

पक्राउ पर्नबाट बच्न आफ्नै मृत्यु दर्ता गर्ने युवक पक्राउ

नेपाल फ्ल्यास
मंसिर ०८, २०७८

ADVERTISEMENT

दश वर्षअघिको घटनामा अदालतबाट दोषी ठहरिएका एक फरार आरोपीले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र बनाएर घरमा बसेको फेला परेको छ। सुनसरीको साविक चाँदबेला-१ (हाल इनरुवा ७) का डाँका मुद्दामा फरार प्रतिवादी अजित मियाँले आफ्नो मृत्यु प्रमाणपत्र बनाएर १० वर्ष घरमै बसोबास गरेको खुलेको हो।

फरार रहँदै आएका मियाँलाई प्रहरीले सोमबार घर नजिकैबाट दिउँसो पक्राउ गरेको हो। तत्कालीन भादगाउँ सिनवारी-६ (हाल रामधुनी-५)  बस्ने जैयस कुमार साहको घरमा १७ भदाै २०६८ राति डाँका डकैतीमा तीन जनाको संलग्नता रहेको खुलेको थियो। अन्य दुई जनालाई प्रहरीले तत्काल पक्राउ गर्न सफल भए पनि मियाँ फरार थिए। 

उनीहरू तीनै जनालाई जिल्ला अदालतले ११ असार २०७५मा जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जय सिंह थापाका अनुसार मियाँले आफ्नो मृत्यु दर्ता प्रमाणपत्र समेत बनाएका कारण पक्राउ गर्न ढिलाइ भएको जानकारी दिए। 

उनले २७ पुस २०७४ मा आफ्नो मृत्यु भएको भनी स्थानीय पञ्जिकाधिकारीको कार्यालयबाट मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए। प्रहरीले उनलाई पटक पटक पक्राउ गर्न प्रयास गर्दा उनले अजितको मृत्यु भइसकेको भन्दै आफूलाई अजितको भाइ अजिजको रूपमा चिनाउँदै आएका थिए। घटनाका पीडित र अर्का अभियुक्त लुचाई शर्मा खत्वेले उनी नै अजित भएको सनाखत गरेपछि मात्र पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।  

सुनसरी प्रहरीले अजितसँगै एकै दिन ४२ जना फरार आरोपीहरूलाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका ४२ जनालाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालतमा पेस गरिएको छ। अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना फैसला भए पनि आरोपीहरू फरार रहँदै आएका थिए। 

लामो समयदेखि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्न प्रहरीले अभियान नै सञ्चालन गरेको थियो। चार महिनाको अवधिमा सुनसरीबाट ५६५ जना फरार प्रतिवादीहरू पक्राउ परेको प्रहरीले जनाएको छ। 

उनीहरूबाट ११९ वर्ष आठ महिना आठ दिन कैद भुक्तान र २६ लाख ७२ हजार ९०६ रुपैयाँ जरिवाना असुल भएको पनि प्रहरीले जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि