बैशाख २३, २०८१, आइतबार
               

करेन्ट लागेर मृत्यु भएका युवककाे परिवारलाई १६ लाख दिने सहमति

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

करेन्ट लागेर बिहीबार बिहान मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचुङका २७ वर्षीय चित्रबहादुर राना मगरको परिवारलाई विद्युत व्यवस्थापन समितिले १६ लाख रुपैयाँ क्षतिपुर्ति दिने भएको छ । विद्युत व्यवस्थापन समितिको लापर्वाहीका कारण मृत्यु भएकाले २५ लाख रुपैयाँ क्षतिपुर्ति पाउनुपर्ने माग राख्दै आफन्तले शव बुझ्न मानेका थिएनन् । 

ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च दुलेगौँडाले मृतकका परिवारलाई १६ लाख रुपैयाँ क्षतिपुर्ति उपलब्ध गराउने गरी शुक्रबार सहमति गरेकाे हाे । सहमति भएसँगै शव दमौली अस्पतालमा पोष्टमार्टम गरी नागढुंगा शवदाह गृह बेलचौतारामा अन्त्येष्टि गरिएको छ । 

समितिले एक लाख रुपैयाँ किरिया खर्च बापत आइतबार उपलब्ध गराउने सम्झौता गरेको छ । बाँकी १५ लाख रुपैयाँ २५ पुसभित्र उपलब्ध गराउन सहमत भएको हो । यस्तै, घाइतेको उपचार र यातायात खर्च पनि समितिले व्यहोर्ने भएको छ । बिहीबार बिहान ४ बजे ट्रान्सफर्मरमा आगलागी हुदाँ गाउँमा हाइभोल्टेज करेन्ट प्रवाह भएको थियो । बिहान ७ बजे चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जर समेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

करेन्ट लागेर दुरुङचुङका थप दुई जना घाईते भएका थिए । उपचाररपछि घाईते दुबै निको भएका छन् । विद्युत व्यवस्थापन समितिको लापरवाहीले ट्रान्सफर्मरमा फ्युज नराखिकन करेन्ट प्रवाह गर्दा घटना भएकाे स्थानीयको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि