बैशाख २७, २०८१, बिहीबार
               

धार्मिक पर्यटन समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक पर्यटन समृद्धिको आधार रहेको बताए । १०८ फिट व्यासमूर्ति निर्माण कार्यको आज दमौलीमा शिलान्यास गर्दै उहाँले धार्मिक पर्यटनबाटै समृद्धि सम्भव रहेको बताएका हुन् । 

मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश धार्मिक पर्यटनमा धनी रहेको चर्चा गर्दै गण्डकी प्रदेशलाई समृद्ध प्रदेश बनाउने अभियानमा सबैलाई लाग्न आग्रह गरे । “प्रदेशको विकासको खम्बा धार्मिक पर्यटन हो”, उनले भने, “प्रदेश सरकारले गर्नुपर्ने काम नागरिक समाजबाट भएको छ, यसमा प्रदेश सरकारको पनि साथ र सहयोग रहन्छ ।”

मुख्यमन्त्री पोखरेलले विकास निर्माणमा जनताको चासो रहनु सान्दर्भिक रहेको उल्लेख गर्दै जनताको अपेक्षाअनुसार सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले व्यासमूर्ति निर्माणको कामले धेरै ठूलो आशा जगाएको बताउँदै व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउन लाग्नुपर्नेमा जोड दिए । 

चार वेद अठार पूराणका रचयिता वेदव्यासको जन्मभूमि दमौलीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने उद्देश्यसहित १०८ फिटको व्यासमूर्ति निर्माण कार्य सुरु गरिएको हो । पहिलो चरणमा पाँच करोड ५० लाख ५५ हजार ६४० को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम हुने व्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले जानकारी दिए । “चर्चा भएको त धेरै वर्ष भयो, जे होस् अब मूर्ति निर्माणको कामको प्रारम्भ भएको छ, बजेट अभाव रहेपनि सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा मूर्ति निर्माण सम्पन्न हुने अपेक्षा लिएका छौँ”, उनले भने ।

पहिलो चरणमा मूर्ति अड्याउन स्तम्भ निर्माणका लागि नगरपालिकाले ठेक्का आह्वान गरेको थियो । नगरपालिकाले एक वर्षभित्र सम्पन्न गर्ने गरी गौरी पार्वती, देव एण्ड सयर/ऋषिशक्ति जेभीसँग सम्झौता गरेको छ । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाको प्रस्तावमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साझेदारी गरेको छ । त्यसका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट उपलब्ध गराएको छ । 

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा ३० लाख बजेट प्राप्त भएको थियो । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ । 

व्यासमूर्ति सहितका संरचना निर्माणका लागि ७१ करोड दुई लाख दश हजार ८८९ रकम आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ । व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु दश लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि