बैशाख १३, २०८१, बिहीबार
               

पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ । धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित सबैको कसुर ठहर गरेपछि सफाइ पाएका विरुद्ध वादी नेपाल सरकारले पुनरावेदन र कसुर ठहर भएकाहरुले निवेदन दिएका थिए  । उच्च अदालतले यसअघि १७ असोजमा ज्यान मार्ने उद्योग कसुर सदर गरेपनि सजाय घटाएर १२ वर्षको ठाउँमा ७ वर्ष निर्धारण गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा संजय टकलाको कारणले ५ जनाको हत्या नभएको, अरु व्यक्तिको कारणबाट भएको देखिएको र त्यही प्रसंगमा जीवनाथ चौधरीको हत्या गर्न षडयन्त्र गरेको तर हत्या नभएको ठहर गर्दै उच्च अदालतले सोमबार ११ वर्ष कैदको फैसला गरेको उच्च सरकारी कार्यालय, जनकपुरका प्रमुख खडानन्द गौतमले बताए ।

यो मुद्दामा २० वर्ष कैद सजायको अभियोग दावी रहे पनि त्यो दावी नपुगेपछि षडयन्त्र कसुर कायम गरेर ११ वर्षको कैद सजाय तोकिएको उनले बताए । उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई ११ वर्षको कैद सजायको फैसला गरेको हो ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए । सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो ।

धनुषा जिल्ला अदालतले साहलाई जन्मकैद सजाय सुनाएपछि उनी अहिले काठमाडौंको नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् । जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि साहलाई धनुषा अदालतले जन्मकैदको फैसला तोकिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि