बैशाख २०, २०८१, बिहीबार
               

२० वर्ष नपुगी आमा बन्नेको संख्या घटेन

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

लमजुङमा बालविवाह बढेसँगै बालापनमै आमा हुनेहरूको संख्या पनि बढेको छ । 'बिहाबारी, २० वर्ष पारी' भन्ने अभियान चलाइए पनि यसले सार्थकता पाउन सकेको छैन । ग्रामीण क्षेत्रमा मात्र नभई शिक्षित र सहरी क्षेत्रमासमेत २० वर्ष नपुग्दै बच्चा जन्माउनेको सङ्ख्या बढेको पाइएको छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, जिल्ला अस्पताल लमजुङमा प्रसूति गराउन आउनेमध्ये १३ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ ।

२० वर्षभन्दा कम उमेरमा गर्भवती भएका किशोरीको विवाह भने १५ देखि १८ वर्षमा भएको पाइएको जिल्ला अस्पतालको अनुमान छ । जिल्लामा बालविवाह गर्नेको यकिन तथ्यांक भने छैन । अस्पतालमा प्रसूति सेवाका लागि आउने महिलाहरूको तथ्यांकमा प्रसूति गराउनेमध्ये केही १३ वर्ष उमेरका किशोरी पनि भेटिने गरेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठ बताउँछन् । सानै उमेरमा आमा बन्दा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने श्रेष्ठको भनाइ छ । उनले भने, ‘कम उमेरका आमालाई धेरै रगत बग्ने, सुन्निने, दीर्घकालमा पाठेघर खस्ने, पिसाब चुहिने समस्या हुन सक्छ ।’

जिल्ला अस्पतालमा ०७७/७८ मा एक हजार १७१ जना महिला आमा बनेका छन् । जसमध्ये १५४ जना किशोरी अर्थात् १३ प्रतिशत किशोरी २० वर्ष नपुग्दै आमा बनेको अस्पतालको रेकर्डमा भेटिएको छ । त्यस्तै आ.व ७६/७७ मा एक हजार १२३ जना महिला आमा बनेका छन् । जसमध्ये १७१ जना महिला २० वर्षमुनिका रहेको अस्पतालले जनाएको छ । त्यस्तै आ.व ०७५/७६ मा एक हजार ११ जना आमा बनेका छन् । जसमध्ये २० वर्षमुनिका १८३ जना छन् ।

स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले मातृ शिशु सुरक्षा कार्यक्रमअन्तर्गत गाउँगाउँमा सचेतनामूलक कार्यक्रम गरी कम उमेरमा विवाह नगर्न सल्लाह दिए पनि अझै उमेर नपुगी विवाह गर्ने चलन नरोकिनु जनचेतनाको अभाव र आमा सुरक्षा कार्यक्रमका लागि चुनौतीको विषय बनेको छ ।

सानै उमेरमा विवाह गर्दा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा पाउँदापाउँदै पनि सामाजिक सञ्जालको विकृति, गरिबी, देखासिकी लगायतका कारणले बालविवाह कम हुन नसकेको अस्पतालका प्रमुख श्रेष्ठले बताए ।


कस्तो लाग्यो ?

यो पनि