बैशाख २३, २०८१, आइतबार
               

गर्धन समातेर चितुवा नियन्त्रण

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

बागलुङको बडिगाड गाउँपालिका- ९ मालारानीका दिलबहादुर थापाको कुखुरा फर्ममा बिहीबार बिहान साढे ३ बजे पसेको चितुवा दिउँसो २ बजेसम्म भागेन ।

चितुवाले खोरका १०० कुखरामध्ये केहीलाई खायो, अन्य सबै मार्‍यो । दिउँसो अबेरसम्म चितुवा खोरबाट ननिस्केपछि स्थानीयले प्रहरी, वन कर्मचारीलाई खबर गरे । गाउँका सबै जना जम्मा भए ।

तर पनि चितुवा निस्कने आँट गरेन । खोरको ढोका खुला गर्दासमेत चितुवा नभागेपछि स्थानीय, प्रहरी र वन कर्मचारीले टिन ठटाउने, ताल बनाउनेजस्ता गतिविधि गरेपछि चितुवा बाहिर निस्केर बाख्राको खोरतर्फ लाग्यो । बाख्रा बचाउन स्थानीयले चितुवा धमाउँदै पछिपछि जाँदै गर्दा चितुवा फेरि उल्टो फर्कियो ।

स्थानीयको अगुवाइमा बडिगाड गाउँपालिका- ८ निवासी राजन पाइजा थिए । दुई टोली बनाएर चितुवा खेदे । गोठतिर गएको चितुवा फेरि खोरतर्फ नै फर्कियो । खोरतर्फको बाटोमा थिए- राजन पाइजा र उनका साथी । राजन र चितुवाको जम्काभेट भयो । कराते खेलाडी पाइजाले भाग्यवस चितुवाको घाँटी र गर्धन समात्न पुगे ।

चितुवाले आक्रमण गर्नुअघि नै पाइजाले त्यसलाई नियन्त्रण गर्न सफल भएपछि नजिकमा भएका सबैले चितुवालाई जबर्जस्ती च्याप्न सफल भए । चितुवा नियन्त्रणमा लिने बेला पाइजाको खुट्टामा सामान्य चोट लागेको छ ।

‘भाग्यले ठूलो क्षति हुन पाएन’, उनले भने, ‘जीवनको अविस्मरणीय क्षण बन्यो ।’ गर्धनमा समात्ने अवसर नपाएको भए ठूलो क्षति हुने पाइजाको भनाइ छ ।

‘मैले झ्याप्प समात्ने मेसो नपाएको भए त्यसले मलाई झम्टन्थ्यो’, उनले भने, ‘ समातेर लडाएँ, सबै आएर कक्रक्कै बनायौँ ।' चितुवा नियन्त्रणमा लिएपछि चार खुट्टा बाँधेर तुरतुरेस्थित देवीस्थान सामुदायिक वनमा लगेर छाडेको सवडिभिजन वन कार्यालयका रेन्जर दीपक श्रीसको भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि