चैत १६, २०८०, शुक्रबार
               

पाँचथरमा बाढीपहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

रासस
कात्तिक ०६, २०७८

ADVERTISEMENT

पाँचथरमा बाढी र पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोमा परी बेपत्ता रहेका दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिरोको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयको ज्यान गएको हो । बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिरोले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरोमा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् ।

जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरोमा परी बेपत्ता छन् । बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरू पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरोमा परी घाइते भएका स्थानीयको उपचारमा आएका थिए । पहिरो झरेपछि भाग्ने क्रममा पहिरोले पुर्दा बेपत्ता भएका उनीहरू अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि