जेठ ०६, २०८१, आइतबार
               

नुवाकोट बस दुर्घटनामा घाइते एकको मृत्यु, ३४ जना घर फर्किए

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

नुवाकोट । नुवाकोटबाट काठमाडौंतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएर उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको किस्पाङ–१ का रमेश तामाङको मृत्यु भएको हो । ३८ वर्षीय तामाङको उपचारका क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

उनका अनुसार गम्भीर अवस्थाका थप ९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा घाइते भएकामध्ये बाँकी आठ जनाको त्रिशूली अस्पताल नुवाकोटमा उपचार भइरहेको छ ।

उनीहरूमध्ये अधिकांशको हात र खुट्टा भाँचिएकाले अवस्था क्रमशः सामान्य हुँदै आएको छ । घाइतेमध्ये अन्य ३४ जना उपचारपछि आजै घर फर्किएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौं जान लागेको बा ४ ख ५७६२ नम्बरको बस सोमबार बिहान मनकामना आइपुग्दा बे्रकले काम नगरेसँगै दुर्घटनामा परेको थियो ।

यात्रुले खचाखच भरिएको केरुङ यातायात प्रालिको बस मनकामनाको धारापाखो भन्ने स्थानमा अनियन्त्रित भएर दुर्घटनामा हुँदा चालकसहित ५३ जना घाइते भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि