जेठ ०७, २०८१, सोमबार
               

१०३ घर परिवारलाई एउटै मात्र धारो !

नेपाल फ्ल्यास
असोज २८, २०७८

ADVERTISEMENT

देशैभर ‘एक घर एक धारो’ कार्यक्रमले व्यापकता पाइरहेको समयमा म्याग्दीको पुरण्य  गाउँबासीका लागि एउटा मात्रै धारोले काम चलाउनु पर्ने बाध्यता  छ । जिल्लाको बेनी नगरपालिका वडा नं ५ स्थित सो गाउँमा १०३ दलित परिवारको बसोबास  छ । ती परिवारका चारसय भन्दा बढी सदस्यले गाँउका बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ बितिसकेको छ ।

सो गाउँमा दलितको मात्रै बस्ती रहेको छ । सो गाउँमा बिहान उठेदेखि रातिसम्म पानीको मात्रै चिन्ता हुनेगरेको बताइएको छ । अन्य समयमा भन्दा बिहानको समयमा यहाँका गृहिणीहरूलाई सास्ती हुनेगरेको ६८ वर्षिया कालिका दर्जीले गुनासो गरिन् ।“बिहान ४ बजेदेखि नै यहाँ भीड लाग्छ”, बुधबार दिउँसो धारामा पानी भर्न आएका उनले भनिन् “११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ,त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ ।”

उनको जस्तै समस्या यस गाउँका सबै गृहिणीले भोग्दै आएका छन् । एक गाग्री पानी भर्नको लागि एक घण्टा नै लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय महिला पार्वती दर्जीले गुनासो गरिन् । “घरको अरु काम गर्नै भ्याइदैन,विहान धारामै वित्छ,काममा जाने लोग्नेमान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ,अनि गाली आफूले खानुपर्छ” उनले भनिन् “अरु गाउँका घरघरमा धारा छन्,हाम्रो गाउँमा गाउँभरीकै मान्छेका लागि जम्मा एउटा धारो छ ।”

यस गाउँमा पानीकै कारण झगडा समेत हुने गरेको पुलाचौरका बुद्धिजीवि शिब बानियाँले जानकारी दिए । “एउटा मात्रै धारो,१०३ घर परिवार,पानी भर्नका लागि तछाँडमछाड त हुने नै भयो, अनि शुरु हुन्छ झगडा,मेरो पालो भन्दै एक जना अघि बढे पछि अर्को पछि हट्ने कुरै भएन,सबैलाई छिटो पानी भरेर घरको काम सक्ने हतारो हुन्छ ।  यहाँ पानीकै कारण दैनिक झगडासमेत हुने गरेको छ ” उनले भने ।

बेनी नगरपालिकाले खानपानी समस्या समाधान गर्न उच्च प्राथमिकता दिएको जनाएको छ ।  वडा नंका ५ का वडाध्यक्ष लक्ष्मण बानियाँले भने,“पुरण्यमा खानेपानीको समस्या छ, तर खानेपानीको स्रोतका अभावमा त्यो समस्यालाई सम्बोधन गर्न सकिएको छैन उहाँहरुलाई वेवास्ता गरेको भन्ने कुरै आउँदैन,श्रोतको खोजी भैरहेको छ, केही समय पछि उहाँको समस्या समाधानका लागि प्रयास शुरु हुनेछ । ”


कस्तो लाग्यो ?

यो पनि