बैशाख २०, २०८१, बिहीबार
               

अक्सिजन प्लान्ट बनाउन मनमोहन अस्पताललाई् १५ लाख अनुदान

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न सहयोग गर्ने भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको रोहबरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकातर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख रुपैयाँ अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौं महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ । महानगरले उपलब्ध गराएको रकमको प्रचलित व्यवस्था बम्मोजिम लेखापरीक्षण गराएर अन्तिम प्रतिवेदन अस्पतालले महानगरलाई बुझाउनुपर्नेछ ।  

मेयर शाक्यले उपचारका लागि कसैले पनि काठमाडौँ आउन नपरोस् भनेर महानगर बाहिरका अस्पताललाई सहयोग गर्ने महानगरको नीति रहेको बताए । ‘बिरामीले उपचार आफ्नै ठाउँमा पाउन सक्नुहोस् । यसले गर्दा बिरामीका परिवारको आर्थिक बोझ कम हुन्छ’, शाक्यले भने, ‘यसका लागि काठमाडौं महानगरले जिल्ला बाहिरको स्वास्थ्य सेवा सुधारमा सहयोग गरिरहेको छ ।’

दक्षिणकाली नगरमा पर्ने प्रसिद्ध धार्मिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि एक करोड रुपैयाँ र सार्वजनिक ठाउँमा हरियाली पार्क बनाउन एक करोड रुपैयाँ महानगरले आर्थिक सहयोग गरेको पनि बताए ।

त्यस क्रममा अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले, मनमोहनको क्षमता विकास भएपछि काठमाडौंसहित ललितपुर र मकवानपुरका विरामीलाई उपचारमा सहज हुने बताए । अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पतालले दिने उपचारको स्तर र खर्चमा सहयोग पुग्ने उनले विश्वास ब्यक्त गरे ।


कस्तो लाग्यो ?

यो पनि