जेठ ०६, २०८१, आइतबार
               

म्याद गुज्रेका सामान बेच्ने ६ जना व्यापारीमाथि कारबाही

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

सिरहा । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०÷१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताए । त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ । 

सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ । अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका वियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताए ।

अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए । अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिनालेवलका २१ थान पानीका जारसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना गरिएको छ । अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि