असोज ०६, २०८१, आइतबार
               

अस्ताए वामपन्थी नेता अवस्थी

नेपाल फ्ल्यास
असोज १०, २०७८

ADVERTISEMENT

बैतडी । वामपन्थी आन्दोलनका अग्रणी नेता एवं समाजसेवी पृथ्वीराज अवस्थीको ८४ वर्षको उमेरमा निधन भएको छ ।

बैतडीको सुर्नया गाउँपालिका–६ शङ्करपुर घर भएका अवस्थी हाल कैलालीको गोदावरीमा बस्दै आएका थिए । ‘लालटिन बाजे’ का रूपमा समेत परिचित अवस्थीको आज उनको शनिबार घरमै निधन भएको हो ।

विसं १९९४ मा जन्मिएर समाज परिवर्तनका लागि लामो समयदेखि सङ्घर्ष गर्दै आएका अवस्थी केही वर्षदेखि अस्वस्थ रहेका थिए । बैतडीमा वामपन्थी आन्दोलनलाई अघि बढाउन अवस्थीको ठूलो योगदान रहेको छ । यस्तै जातीय विभेद अन्त्यका लागि समेत अवस्थीले ठूलो योगदान पुर्याएको स्थानीयवासीले बताएका छन् ।

विसं २०४६ को परिवर्तनपछि एमालेबाट चुनावसमेत लडेका अवस्थी पराजित भएका थिए । उनले चुनावताका लगाएको एक भोट एक नोटको नारा धेरै चर्चामा रहेको छ ।

प्रबल जनसेवा (चतुर्थ श्रेणी) मानपदवीबाट विभूषित भएका अवस्थीले गोरखा दक्षिणबाहु पनि पाएका थिए । पृथ्वीराज अवस्थीलाई वैचारिक र निष्ठावान नेताका रुपमा लिने गरिन्छ । उनले लामो समयसम्म नागरिक समाज बैतडीको नेतृत्वसमेत गरेका थिए ।

बैतडी एमालेको पहिलो पुस्ताका थोरै नेतामध्येका एक व्यक्ति अवस्थी पनि थिए । अवस्थीलगायतका नेताका कारण एमालेको सङ्गठन गाउँ–गाउँसम्म फैलाएपछि यहाँ कम्युनिष्ट आन्दोलन र सङ्गठनले गति लिएको बताइन्छ ।

सङ्गठन निर्माण र जनजीविकाको सवालमा अवस्थीले जहिल्यै निमुखाका पक्षमा रहेर काम गरेका थिए । अवस्थीको निधनमा विभिन्न पार्टीका नेता, व्यक्ति र संघसंस्थाले दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि