बैशाख २१, २०८१, शुक्रबार
               

पत्रकार यात्रुसहित चारजना पुरस्कृत

नेपाल फ्ल्यास
भदौ ३०, २०७८

ADVERTISEMENT

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा नियन्त्रणको क्षेत्रमा विशेष योगदान दिएको भन्दै वरिष्ठ पत्रकार कुमार यात्रुसहित दुई जना पत्रकार, दुई सञ्चार संस्था र दुई जना अभियानकर्ता गरी आठ जनालाई पुरस्कृत एवं सम्मान गरेको छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा बुधबार आयोजित संक्षिप्त कार्यक्रममा पत्रकार यात्रुलगायतलाई नगद पुरस्कार २० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो । 

पुरस्कृत हुनेमा टेलिभिजनतर्फ इन्डिजिनियस टेलिभिजनका प्रमुख कार्यकारी कार्यक्रम निर्माता कुमार यात्रु छन् । त्यसैगरी छापातर्फ दैलेखकी पत्रकार ज्योति कटुवाल, संस्थातर्फ शक्ति समूहकी माया तामाङ र प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी निरीक्षक श्रीराम थापालाई पुरस्कार एवं सम्मानित गरिएको हो ।  

यसरी नै संस्थागततर्फ वैदेशिक रोजगारबाट फर्केर आएका महिलाको संस्था पौरखी नेपाल,  जिल्ला प्रहरी कार्यालय कैलाली, हिमालय टाइम्स राष्ट्रिय दैनिक र हाम्रा कुरा अनलाइनलाई पनि सम्मानित गरिएको थियो । 

महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य सलोनी प्रधान सिंहले पुरस्कार प्रदान गरेकी थिइन् । 

कार्यक्रममा योजना आयोगकी सदस्य सिंहले मानव बेचबिखनविरुद्धको अभियान सफल बनाएर नेपाललाई बेचबिखनमुक्त देश बनाउनुपर्ने धारणा राखिन् । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले अपेक्षा वैदेशिक रोजगारका नाममा हुने मानव बेचबिखन रोक्न सबै पक्षको साथ र सहयोगको अपेक्षा गरिन् ।

शक्ति समूहकी माया तामाङले पुरस्कारबाट जीवनको दोस्रो खुसी पाएको बताइन् । 

सोही समारोहमा गत वर्षका ७ व्यक्ति र संस्थालाई पनि पुरस्कार प्रदान गरिएको थियो  । 

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १५औँ राष्ट्रिय दिवसका अवसरमा विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कार तथा सम्मान गर्ने घोषणा भएअनुसार बुधबार सम्मान हस्तान्तरण भएको हो । 


कस्तो लाग्यो ?

यो पनि