काठमाडौं । हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका नेपाली सेनाको कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङको मुद्दामा बिहीबार सुनुवाइ हुँदैछ । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णयविरुद्ध उनीहरुले जंगी अड्डास्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए ।
उनीहरुले चोरेको भनिएको हतियार महेन्द्र दल गणमा कार्यरत अर्का सैनिक जवान गंगाधर ढकालको साथबाट बरामद गरिएको छ । ढकालले साउन ७ मा चितवनमा हुद्दा भरत गुरुङलाई सो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
भरत गुरुङको हत्या आरोपमा पक्राउ परेका ढकाललाई चितवन जिल्ला अदालतले सैनिक अदालतको जिम्मा लगाएको छ । उनलाई जंगी अड्डास्थित आन्तरिक थुनामा राखिएको छ । २०७५ पुस ३ मा ‘एसएमजी’ चोरी भएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार हत्यामा बट नम्बर ‘केआर–१००७९२’ नम्बरको एसएमजी प्रयोग भएको छ । दुई वर्षअघि चोरी भएको हतियारको नम्बरसँग सो नम्बर म्याच भएको छ ।
चोरी प्रकरणमा ट्विस्ट आएपछि जंगी अड्डाले कोर्ट अफ इन्क्वायरी बोर्ड ‘छानविन समिति’ चितवन पठाएर छानविन गरेको थियो । महा–सेनानी नेतृत्वको समितिले भदौ ११ अघि नै छानविन प्रतिवेदन बुझाएको थियो । इन्क्वायरी बोर्डले हतियार सैनिक जवान ढकालले नै चोरेको पुष्टि भएको प्रतिवेदन जंगी अड्डामा बुझाएको छ । कोर्ट अर्फ इन्क्वायरी प्रतिवेदन बुझाएपछि सो मुद्दामा जंगी अड्डाले कोर्ट मार्सल गरेको थियो । सैनिक जवान गंगाधर ढकालले हतियार आफैंले चोरेको स्वीकारेका छन् । हत्या अरोपी सैनिक जवान चितवनको कालिका नगरपालिका–२१ पदमपुरका हुन् । उनले कोतघरको झ्यालको जाली उधारेर अङ्कुसेले तानेर हतियार चोरेको छानबिनबाट थाहा भएको छ ।
हतियार चोरेको आरोपमा कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ २८ महिनादेखि कारागार कार्यालय भरतपुरमा थुनामा छन् । विशेष सैनिक अदालतले अमल्दार लवकुमार गुरुङ्ग र जवान सरोज तामाङ्ग ‘निर्दोष हुन कि होइनन्’ र गंगाधरले कत्ति जेल सजाय पाउँछन् भन्नेबारे फैसला गर्ने बताइएको छ ।