बैशाख २२, २०८१, शनिबार
               

‘ग्लोबल टिन हिरो’का प्रतियोगीसँग भारतीय दूतावासको अन्तर्क्रिया

नेपाल फ्ल्यास
भदौ ११, २०७८

ADVERTISEMENT

 

भारतीय राजदूतावास र एमएस ग्लोबल प्राइभेट लिमिटेडले ग्लोबल टिन हिरोका प्रतिस्पर्धीसँग भर्चुअल अन्तर्क्रिया गरेको छ ।

दूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोबल टिन हिरो’ कार्यक्रमका अन्तिम २० जना प्रतियोगीबीच भर्चुअल अन्तर्क्रिया गरिएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

नेपालका विभिन्न जिल्लाबाट आएका १४ देखि २० वर्ष उमेर समूहका अन्तिम २० प्रतियोगीहरूले उत्सुक एवम् चासोसहित नियोग उपप्रमुख खम्पासँग अन्तरक्रिया गरेका थिए । २० सहभागीहरूमा सामाजिक उद्यमी, अभियन्ता, शिक्षकलगायत नवीन सोच भएका व्यक्तिहरू थिए । 

प्रतियोगीहरूले आफ्ना व्यक्तिगत जीवन कथा र आफूले गरेका कामको अनुभव एकापसमा साटासाट गर्नुका साथै आफ्ना समुदाय, आफ्ना परिवार र आफू स्वयमका लागि साँचेका भविष्यका आकांक्षाबारे बताएका थिए ।

आ–आफ्ना समुदायको विकासका लागि प्रत्येक प्रतियोगीले आफ्नै तवरबाट योगदान पुर्‍याएका छन् । सानै उमेरमा उनीहरूले देखाएको साहस, उनीहरूले पुर्‍याएको योगदान र हासिल गरेका उपलब्धिहरूलाई कदर गर्न उनीहरूलाई प्रतिस्पर्धी (Glocal 20under20 नाम दिइएको) को रूपमा छनोट गरिएको हो ।

अन्तर्क्रियामा नियोग उपप्रमुख खम्पाले पहलकदमी थालनीको महत्त्वबारे चर्चा गर्दै प्रत्येक प्रतियोगीहरूले परिवर्तनको संवाहक बन्न देखाएको जोस र उत्साहको सराहना गरिन् । ती प्रतियोगीहरू नेपाल र भारत–नेपाल सम्बन्धको भविष्य भएको बताउँदै खम्पाले उनीहरूलाई समुदाय, समाज र देशको रूपान्तरणतर्फ काम गर्न प्रेरित गरेकी थिइन् । उनले प्रतियोगीहरूलाई सिंगो दक्षिण एसियाको भविष्य कोर्ने नेतृत्वदायी भूमिकामा खरो उत्रिन पनि अभिप्रेरित गरिन् । 

कार्यक्रमको अन्तमा प्रश्न/उत्तर सत्रमा उपस्थित सहभागीहरूले कूटनीति, छिमेकी मुलुकमा देखिएका समस्या र चुनौतीमा भारतले देखाएको अग्रसरता, पेसा छनोट र सीप ज्ञान हासिल गर्नुको महत्त्वसँग सम्बन्धित विषयमा जिज्ञासा राख्नुका साथै उनीहरूले उठाएका जिज्ञासाको उत्तर दिइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि