असोज ०६, २०८१, आइतबार
               

इलाका प्रशासन कार्यालय पाल्पामा नागरिकता लिनेको घुइँचो

नेपाल फ्ल्यास
भदौ ०५, २०७८

ADVERTISEMENT

इलाका प्रशासन कार्यालयमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ । तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो ।

त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएकोे छ । जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने गरेका हुन्  ।  रामपुर नगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउन थालिएकाले पनि नागरिकता बनाउने बढेका छन् ।

विगतमा दैनिक २५ वटासम्म नागरिकता दिइने गरेकामा  अहिले दैनिक ९० वटासम्म नागरिकता दिन थालिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुखको व्यवस्था नहुँदासम्म जिप्रकाले गत साउन ७ गतेदेखि बिहीबार र शुक्रबार हप्तामा दुई दिन प्रशासकीय अधिकृत खटाएर सेवा दिँदै आएको हो । 

साउन २० गतेदेखि राष्ट्रिय परिचय पत्र दिन थालिएकाले २१ गतेदेखि जिप्रकाको टोलीले यहाँ नियमित बसेर सेवा दिँदै आएको र शुक्रबारसम्म नौ सय नागरिकता जारी गरिएको निमित्त प्रमुख यज्ञश्वर पन्थीले जानकारी दिए ।

सेवाग्राहीको भीड बढेकाले  जिप्रकाबाट  प्रशासकीय अधिकृतसहित एक नायब सुब्बा र नगरपालिकाबाट एक खरिदार पनि परिचालन गरिएको छ ।  अहिले अत्यधिक सिफारिससहित निवेदन परेकाले  समयमै नागरिकता जारी गर्न समस्या हुँदा सेवाग्राहीले पालो कुर्नु परेको छ  ।

आउँदो भदौ १८ गतेसम्मका लागि पुग्ने गरी निवेदन सङ्कलन भइसकेको कार्यालयले जनाएको छ । नयाँ र प्रतिलिपि लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको पाइएको छ ।

टोली आएर सेवा दिन थालेकाले यही मौकामा छोरीको नागरिकता बनाइदिएको नगरपालिकाको कार्यापालिका सदस्य सावित्रा गौतमले बताए । “पहिले नै छोरीको नागरिकता बनाउनुपर्ने थियो, वर्षायाममा सदरमुकाम तानसेन जान पनि समस्या थियो, यहीँ आएको मौका पारेर नागरिकता  बनाइयो, आफ्नै ठाउँबाट सेवा पाउँदा धेरै राहत भएको छ,” उनले भने । 

नगरपालिकासहित निस्दी गाउँपालिकाको वडा नं १,२,३,४,५ तथा ६ र पूर्वखोला गाउँपालिका–१ सिलुवाका नागरिकले सेवा लिँदै आएका उक्त कार्यालयबाट नागरिकता, द्रुत गतिको राहदानी सिफारिस, जनजाती  प्रमाणित, नाबालक परिचय पत्र, संस्था नवीकरणलगायत काम हुँदै आएको छ । 

राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य सक्कल प्रमाणपत्र चाहिने भएकाले जिप्रका जल्नुअघि नै नागरिकता बनाएर हराएका र  उमेर पुगेर पनि विविध कारणले छुटेकाले पनि  नागरिकता बनाएका छन् । नागरिकताको फोटो नचिनिने तथा अन्य विवरण मिलाउनु पर्दा समय लागेकाले कार्यालयमा दैनिक भिड हुने गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि