बैशाख २४, २०८१, सोमबार
               

अफगानमा रहेका ३० हजार नेपाली खतरामा, उद्धारमा बेवास्ता

ADVERTISEMENT

अफगानिस्तानको घरेलु द्वन्द्वले त्यहाँ कार्यरत नेपाली नागरिक जोखिममा परे पनि आफ्ना नागरिक फर्काउन नेपाल सरकारले कुनै पहल थालेको छैन । छिमेकी भारतसहित विश्वका सबैजसो मुलुकले आफ्ना नागरिक फर्काउन थाले पनि नेपालले अहिलेसम्म कुनै वास्तासमेत नगरेको हो । 

तालिवानले अफगानिस्तानका ३४ मध्ये १८ प्रान्तका पछिल्लो एक सातामै कब्जा गरिसकेको छ । तालिवानी समूह निरन्तर राजधानी काबुलतर्फ अघि बढिरहेको छ  । भिडन्तले अफगानिस्तानमा मानवीय त्रासदी छाएकाले त्यहाँका नागरिक तथा आप्रवासीसँगै नेपाली पनि संकटमा परेका छन् । अफगानिस्तानको काबुलमा एक हजार ५०० नेपाली कार्यरत रहेको तथ्यांक परराष्ट्र मन्त्रालयले प्राप्त गरेको छ । उनीहरू श्रम स्वीकृति लिएर बैधानिक रुपमा त्यहाँ गएका हुन् । अझै अबैध रुपमा पनि त्यहाँ पुगेका नेपालीको संख्या कति छ यकिन छैन। 

त्यहाँ रहेका नेपालीहरू संयुक्त राष्ट्रसंघ, विभिन्न देशका दूतावासलगायतमा सुरक्षागार्ड रहेको बताइन्छ।अमेरिकी नेतृत्वको नेटो (नर्थ एट्लान्टिक ट्रिटी अर्गनाइजेसन) सेनाले अफगानिस्तान छाडेपछि विद्रोही तालिवानले त्यहाँँ सत्ताकब्जा गर्न सरकारी सुरक्षाकर्मीविरुद्ध आक्रमण तीव्र बनाएको छ । 

तालिवानी समूह निरन्तर राजधानी काबुलतर्फ अघि बढिरहेको छ । राजधानी काबुल कब्जा गर्ने खतरा  छ । र, त्यो अवस्था आएमा त्यहाँ रहेका झण्डै ३० हजार नेपाली नागरिकको ज्यान खतरामा हुनेछ । भिडन्तले अफगानिस्तानमा मानवीय त्रासदी छाइरहँदा र नेपाली नागरिक पनि संकटमा पर्दा नेपाल सरकारले उद्धारको प्रयास थालेको छैन । अफगानिस्तानमा रहेका करिब १५ सय नेपालीको तथ्यांक हामीले प्राप्त गरिसकेको तर फर्काउने विषयमा कुनै पहल नभएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

सेवा लम्सा, प्रवक्ता, परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्साल भन्छिन् ‘श्रम स्वीकृति लिएर गएका १५ सय  नागरिक  त्यहाँ गएको देखिएको छ । अरू नेपाली पनि छन् कि भन्ने विषयमा सोधखोज पनि जारी छ । बैधानिक रुपमा गएकाहरू अहिलेसम्म सुरक्षित रहेको थाहा भएको छ । तर अहिल्यै स्वदेश फर्काउने बारेमा भने केही निर्णय भएको छैन ।’

परराष्ट्रसचिव भरतराज पौड्यालले शुक्रबार भारतीय दूतावास अधिकारीहरूलाई नेपालीको अवस्थाबारे जानकारी लिन, नेपालीलाई सतर्क अवस्थामा रहन आग्रह गर्न निर्देशन दिएको बताइएको छ । भारतस्थित नेपाली दुतावासको सिफारिसमा अफगानिस्थानमा नेपाली पठाइदै आएको छ । अफगानिस्थानमा नेपाली दुतावास नभएकाले भारतस्थित दुतावासले हेर्दै आएको छ । यसैले परराष्ट्र मन्त्रालयले उनीहरूसँग निरन्तर सम्पर्कमा बस्न निर्देशन दिएको हो ।

पूर्व गृहमन्त्रीसमेत रहेका एमाले सांसद खगराज अधिकारीले भने अफगानिस्तानमा नेपाली स्वदेश फर्कन चाहेको उल्लेख गर्दै उनीहरूलाई तत्काल उद्धार गर्न आग्रह गर्छन् । अफगानिस्तानमा हिंसा चर्किएको दोस्रो हप्ता चलिरहँदा र संसद्मै समेत आवाज उठाएका उनी भन्छन् ‘विभिन्न मुलुकका सुरक्षा कम्पनीहरूले नेपाली सुरक्षा गार्डहरूलाई ‘फ्रन्टलाइन सुरक्षा’का लागि अफगानिस्तान पुर्‍याउँदै आएका छन्, त्यहाँको अवस्था थप बिग्रँदै जाँदा तिनले नेपालीलाई ‘भाडाका सैनिक’का रुपमा युद्धमै प्रयोग गर्नसक्ने जोखिम छ। यसैले उनीहरूको तत्काल उद्धार गरिनुपर्छ ।’

अफगानिस्थानमा कति छन् नेपाली ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार अफगानिस्तानमा १४ हजार ५६५ नेपाली कार्यरत छन् । श्रम स्वीकृतिबिना अफगानिस्तानमा पुगेका नेपालीको संख्या अझ धेरै छन् । श्रम मन्त्रालयका अनुसार यही वर्ष पनि वैशाखदेखि साउन २९ सम्म श्रम स्वीकृति लिएर ५६५ जना अफगानिस्तान गएका छन् । 

श्रम स्वीकृति लिएर गएका र श्रम स्वीकृतिबिना गएकाहरूको संख्या गरी करिव ३० हजार बढी रहेको हुनसक्ने जानकारहरू बताउँछन् ।

कहाँ के काम गर्छन् नेपाली 

नेपालीहरूलाई त्यहाँ ग्रिन जोन अर्थात सुरक्षित स्थानमा काम गर्ने भनेर लगिने गरिन्छ । २०७३ सालमा ‘ग्रिन जोन’ मै एक गाडीमा आत्मघाती हमलामा भएको थियो । सो क्रममा १३ नेपाली सुरक्षागार्डको मृत्यु भएको थियो । लगत्तै त्यहाँ रहेका  स्वदेश फर्कन चाहने नेपालीलाई फर्काएको थियो । सरकारले राष्ट्रिय ध्वजाबहाक विमानमार्फत ती नेपालीलाई ल्याएको थियो । घटनासँगै नेपाल सरकारले अफगानिस्तानमा सुरक्षाकर्मी पठाउन बन्द गरेको थियो ।  तर, काठमाडौंस्थित अमेरिका, बेलायत र युरोपेली मुलुकका दूतावासको दबाब आयो । नेपाल सरकारले अफगानस्थानमा आफ्ना नागरिक  पठाउने निर्णय फिर्ता लियो । अफगानिस्तानमा श्रम स्वीकृति नै खुला गरियो । भारतस्थित नेपाली दूतावासले सिफारिस गरेका आधारमा वैदेशिक रोजगार विभागले अफगानिस्तानका ‘विशेषतः सुरक्षित क्षेत्र’मा जाने नेपालीलाई श्रम स्वीकृति दिने गरेको छ। 

यसरी अफगानिस्थान जाने नेपालीहरू संयुक्त राष्ट्रसंघीय नियोग र विभिन्न मुलुकका दूतावासको सुरक्षाको भित्री घेरामा खटिएका छन् । संयुक्त राष्ट्रसंघ तथा त्यसअन्तर्गतका कार्यालय, युरोपियन युनियनको कार्यालय, बेलायत, जर्मनी, क्यानडा, जापान, नर्वे, अस्ट्रेलियन दूतावासमा नेपाली पूर्व सुरक्षाकर्मी खटिएका छन् ।

काबुलस्थित अमेरिकी राजदूतावासमा मात्रै पाँच सय ६० जना नेपाली कार्यरत छन् । त्यसमध्ये तीन सय ८० त्यही कार्यरत रहेका र बाँकी एक सय ८० बिदामा काबुलबाहिर छन् । त्यस्तै, संयुक्त राष्ट्रसंघीय निकाय र युरोपियन युनियनको कार्यालयमा मात्रै कम्तीमा चार सय ७० नेपाली छन् । बेलायत, क्यानडा, जापान, जर्मनी, अस्ट्रेलियाका दूतावासमा कम्तीमा ६०–६० जना नेपाली खटिएका छन् । ती मध्ये केही दूतावासमा कार्यरत नेपाली भने स्वदेश फर्किसकेका छन् ।

नेपाली नागरिक किन जोखिममा ?

तालिवानीको पहिलो निशानामा अमेरिकी नियोग हुन् । किनकी तालीवानी समूहलाई दवाउन अमेरिकी सेना प्रयोग गरिएको थियो । अहिले अमेरिकी सेना फर्किएको छ । तालिवानी समूह थप बलियो भएको छ  । उसले विभिन्न शहर कब्जा गरिरहेको छ । तालिवानी समूहले राजधानी काबुल नियन्त्रणम लिने योजना अनुसार अघि बढेको छ । यदी यो योजना सफल भएमा तालिवानीको निशाना काबुलस्थित अमेरिकी दूतावास समेत हुने छ।  अमेरिकी दूतावासको भित्री सुरक्षा घेरामा नेपाली नागरिक हतियारसहित छन् । जहाँ पाँच सय ६० जना नेपाली कार्यरत छन् । यदी त्यो अवस्थामा उनीहरूको ज्यानको खतरा रहनेछ ।

स्थत विदेशी दूतावासहरूमा बाहिरी दुई तहको सुरक्षा घेरामा अफगानी सुरक्षाकर्मी छन् । तेस्रो सुरक्षा घेरामा नेपाली छन् । चौथो घेरामा आन्तरिक सुरक्षामा अर्थात् सम्बन्धित मुलुककै सुरक्षाकर्मी छन् । ती सबै नियोगले तालिवानलाई असहयोग गरेकाले आक्रमणको निशानामा छन् ।

अफगानिस्थानमा प्राय सबै सुरक्षा गार्डको रुपमा नेपाली लगिएको छ। धेरैजसो भूतपूर्व आर्मीहरू छन् ।  यदी त्यहाँको सेनालाई तालिवानविरुद्ध संकटपूर्ण अवस्था आएमा नेपाली सुरक्षा गार्डलाई समेत तालिवानविरुद्ध लड्न प्रयोग गरिने जोखिम बढेको सुरक्षाविद्हरूले विश्लेषण गरेका छन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि